निर्णय नं. ९६१९ - जबरजस्ती करणी (हाडनाता)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६१९ - जबरजस्ती करणी (हाडनाता) भाग: ५८ साल: २०७३ महिना: असोज अंक: ६ फैसला मिति :२०७२/११/०३ ८८८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।११।३।२ ०६८-CR-०४१७ मुद्दा : जबरजस्ती करणी (हाडनाता) पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट बेलकोट गा.वि.स. वडा नं. २ घर भई कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौंमा थुनामा रहेको ऋद्धिराम त्रिपाठीको छोरा श्रीराम त्रिपाठी विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम मन कुमारीको जाहेरीले नेपाल सरकार चरित्रकै विवाद रहेको मुद्दामा बाहेक अपराधी ठहर गर्न वा सफाइ दिनको लागि व्यक्तिको चरित्रलाई कानूनले खासै महत्त्व दिएको छैन । करणी एउटा घटना हो जो जुनसुकै जैविक व्यक्तिबाट जुनसुकै बेला जसरी पनि घटित हुने सम्भावना रहन्छ । यसका प्रस्फुटनका एक होइन अनेकौं छिद्र हुन्छन् । साधु सन्त देउतादेखि दुष्ट दुर्जन सबै यसको दायरामा आउन सक्ने हुन्छन् । त्यसैगरी यौन दुराचार र करणी गर्ने काम सामान्यतया कसैले पनि खास गरी बाबुले आफ्नो सन्तानको सामुन्ने गर्ने कुरा एक असामान्य कुरा भएको र पीडितकी बहिनी निक्कै कम उमेरकी भएकीले निजबाट यस्तो तथ्य थाहा पाउने अवस्था कमै पर्छ । अतः ती भनाइलाई प्रतिवादीको सफाइको आधार बनाउनु उपयुक्त नहुने । (प्रकरण नं.६) ठूलै घाखत भई सो घाउ बिग्रेको केही अपवादजन्य अवस्थाबाहेक करणी भएको एक महिनासम्म जबरजस्ती करणीका लक्षणहरू यथावत् रहन सक्ने हुँदैनन् । कानूनले १६ वर्ष पूरा भएकोलाई बयस्क माने पनि नेपालमा १३-१४ वर्षमा नै केटीहरूको स्तनलगायतका यौनांगहरूको विकास हुने र महिनावारी सुरू हुने र सन्तान जन्माउन सक्ने अवस्थामा पुग्ने यहाँको इतिहास र यथार्थ छ । करणी भएको भनिएको समयमा पीडितको उमेर १४ वर्ष पूरा भई १५ मा प्रवेश गर्नको लागि ४ महिना जति बाँकी रहेको देखिन्छ । पीडितको कन्याजाली च्यातिएको अवस्था छ । कन्याजाली विभिन्न कारणले च्यातिन सक्ने कुरा यथार्थ हो । तर सामान्य क्रियाकलापबाट कन्याजाली च्यातिने कुरा यथार्थ होइन । पीडितबाट के कस्तो असामान्य क्रियाकलाप भयो र निजको कन्याजाली च्यातिन पुग्यो यसको जिकिर प्रतिवादीले लिनुपर्छ र त्यसको प्रमाण पनि निजैले पुर्याउनु पर्ने । पीडितले अरूहरूसँग पनि यौन सम्पर्क गरेकी कुराको हल्का वा बलियो कुनै प्रमाण देखिँदैन । प्रमाण र अनुमान फरक कुरा हुन् । बाबुको दुराचारबाट पीडित भई घर छोडेर छोरीले कसैसँग केही समय बिताएको तथ्यबाट निजहरू बिचको सोसम्बन्ध यौन सम्पर्कमा नै परिणत भएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.८) बकपत्रमा परेका धेरै कुरा मौकाको जाहेरीमा उल्लेख हुन सकेका छैनन् । तर बकपत्र गर्ने व्यक्ति बकपत्र कसरी गर्नुपर्छ भन्ने कानून पढेको ज्ञाता व्यक्ति नभएको कुरा विचारणीय छ । प्रतिवादी एकदम बदमास व्यक्ति भएको देखाउन पनि वास्तविक तथ्यलाई बढाईचढाई गर्ने आनीबानी मानव स्वभावभित्रै पर्छ । जाहेरी दिँदा जाहेरवाला धेरथोर अविचलित अवस्थामा रहने हुँदा सो को प्रभावस्वरूप मौकामा सिलसिलाबद्धमा सबै तथ्यको वर्णन नहुन पनि हुन सक्छ । तथापि दूधमा पानी मिसिएको भन्दैमा त्यसमा दूध छैन पानी मात्रै छ भन्न नमिले जस्तै केही कुरा बढाईचढाई आएबाटै वा केही कुरा छुटेबाटै त्यसलाई मात्र अलग्याई मिसिलका अरू प्रमाणको उपेक्षा गरी सो बकपत्रमा परेका यथार्थ कुरालाई समेत अमान्य गर्नु उचित हुँदैन । न्यायाधीशले राजहंसको काम गर्न सक्नुपर्छ । दूध कति र पान