निर्णय नं. ९६२२ - कर्तव्य ज्यान / ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६२२ - कर्तव्य ज्यान / ज्यान मार्ने उद्योग भाग: ५८ साल: २०७३ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/०१/१५ ५०७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।१।१५।४ मुद्दा : कर्तव्य ज्यान / ज्यान मार्ने उद्योग ०६९-RC-००२८ वादी : जवाहर राय यादवसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला सर्लाही, मानपुर गा.वि.स.वडा नं.५ बस्ने विनोदकुमार राय यादवसमेत ०६९-CR-०७७८ वादी : जवाहर राय यादवसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सर्लाही, मानपुर गा.वि.स.वडा नं.५ बस्ने राम गोविन्द रायसमेत आफू निर्दोष रहेको वा अभियोग दाबीअनुसारको कसुरमा संलग्नता नरहेको भनी सजायबाट छुट वा कमी पाउनुपर्ने भए प्रतिवादीहरूले अदालतमा हाजिर भई अदालतबाट प्राप्त हुने सुनुवाई र पुनरावेदनका जस्ता मौकाहरू उपयोग गर्न सक्नुपर्ने थियो । मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरू विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायले चलाएको गोलीबाट नै मृतकको मृत्यु भएको तथ्य स्थापित हुन आउने । (प्रकरण नं.५) मनसाय तत्त्व अलग्गै प्रमाणित हुने नभई आपराधिक कार्य गर्दाका गतिविधिहरूबाट नै पुष्टि हुने विषय भएकाले यसमा दुवै पक्षबिच पहिलेदेखि नै झगडा भइरहने गरेको देखिनु, त्यस दिन पनि गहुँ लुटेको विषयमा पञ्चायती गर्न भनी आएका व्यक्तिहरूलाई बाटोमा रोकी गोली चलेको, धेरै चोटी फायर भएको, प्रतिवादीहरूको हात हातमा बन्दुक लिएर गएको भन्ने जस्ता तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिएकोले यी प्रतिवादीहरूले जानी जानी मनसायले नै गोली चलाएको कुरालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.६) घटना अपर्झट भएको देखिनाले यी सबै प्रतिवादीहरू घटनास्थलमा उपस्थित हुनसक्ने अवस्था पनि देखिँदैन । घटनापश्चात् घटनास्थलमा देखिने जति सबैको घटनामा संलग्नता रहेको हुन्छ भनी भन्नु पनि न्यायोचित नहुने । (प्रकरण नं.८) कमन ल सँग नजिक रहेको हाम्रो कानून प्रणालीमा यसले यस्तो कसुर गरेको हो भनी निसन्देह प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । कसुर प्रमाणित हुन अलिकती पनि सन्देह वा शंका रहेमा त्यसको फाइदा अभियुक्तहरूले पाउने हुन्छ । सबुद प्रमाण पेस गरेर मात्र हुँदैन अभियोजन कर्ताले पेस गरेका त्यस्ता सबुद प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन तथा न्यायिक परीक्षण अदालतले गर्ने । विवाद निरूपणमा अदालतले ग्रहण गर्ने प्रमाण आपसमा विरोधाभाषपूर्ण नभई जहिले पनि एक अर्कोलाई समर्थन गर्ने हुनुपर्दछ । मौखिक प्रमाण प्रत्यक्ष देखे जानेको हुनुपर्छ । द्विविधापूर्ण, अस्पस्ट र सुनेको आधारमा भनेको भनाइका आधारमा कसुरदार ठहराउनु न्यायोचित नहुने । जाहेरी दरखास्त अनुसन्धानमा साबिती बयान मौकाको कागज सहअभियुक्तको पोल जस्ता कुरा आफैमा स्वतन्त्र प्रमाण नभई यस्ता प्रमाणलाई अन्य प्रमाणबाट पुष्टि हुनुपर्नेमा घटनास्थलमा रहेका व्यक्ति र घटनामा छोरा श्रीमान् गुमाई पीडित भएका व्यक्तिहरूको पनि अनुसन्धानमा र अदालतमा व्यक्त भनाइहरू परस्पर विरोधाभाषयुक्त छन् । यस्तो अवस्थामा उल्लिखित प्रतिवादीहरू ज्यान मार्ने मतसल्लाहमा पसि वारदातस्थलमा रही आरोपित कसुर गरेको भन्ने सकिने अवस्था नहुने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं., १७ नं. को देहाय ३