निर्णय नं. ९६२७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६२७ - परमादेश भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/१२/०२ ८८४५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।१२।२।३ ०६८-WO-०७३१ मुद्दा : परमादेश निवेदक : अनिता सापकोटाकी छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ घट्टेकुलो काठमाडौं बस्ने सज्दा सापकोटासमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौंसमेत संविधान तथा कानूनले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरिरहेका व्यक्तिहरूले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने भनी व्यवस्था गरिसकेको अवस्थामा बाबु विदेशी वा स्वदेशी हो भन्ने प्रश्न उठाई संविधान र कानूनबमोजिम नागरिकता प्राप्त गर्ने योग्यता पुगेका व्यक्तिहरूलाई नागरिकताको प्रमाणपत्र दिन इन्कार गरी नागरिकता विहीन बनाउनु कानूनअनुकूलको कार्य मान्न नसकिने । (प्रकरण नं.७) नेपाली नागरिक बाबु वा आमाबाट नेपालको कुनै भू–भागमा जन्मिएको व्यक्तिले त्यही जिल्लाबाट नेपालको नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने अधिकार राख्दछ । नागरिक नभई कसैले पनि यो देशको राजनीतिक तथा नागरिक अधिकार प्रयोग गर्न, अचल सम्पत्ति प्राप्त गर्न, कुनै चुनावमा भाग लिने वा मतदान गर्ने अधिकार वा नेपाली नागरिकले मात्र प्रयोग गर्न पाउने कुनै पनि हक तथा अधिकार प्रयोग गर्न पाउने हुँदैन । नेपाल राज्यमा जन्मेको कारण नेपाली नागरिक हुन योग्यता पुगेपछि र आवश्यक रीत पुर्याई कानूनमा तोकिएको ढाँचामा आवेदन गरेपछि सहज र सरल तरिकाले नेपालको नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने प्रत्येक योग्यता पुगेको व्यक्तिको अधिकार हो । तर कानूनबमोजिमको न्यूनतम प्रक्रिया पुर्याई नागरिकता प्राप्तिको लागि आवेदन परेको अवस्थामा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा नागरिकता जस्तो संवेदनशील प्रश्नमा सौहार्द्रतापूर्वक सहयोग गर्नुपर्नेमा यस्तो र त्यस्तो बहाना गरी नागरिकताको प्रमाणपत्र दिन इन्कार गरी विपक्षीहरूले निवेदकहरूलाई झुलाउने कार्य गरेको पाइँदा यस्तो कार्यलाई जिम्मेवारपूर्ण एवम् कानूनसम्मत कार्य मान्न नसकिने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू मीरा ढुङ्गाना र सुष्मा गौतम विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई अवलम्बित नजिर : ने.का.प. २०६८ जेठ, नि.नं.८५५७ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८(२)(ख) आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य यसप्रकार छ:- नागरिकताको अधिकार व्यक्तिको अत्यन्तै महत्त्वपूर्ण अधिकार हो र यो यस्तो दस्ताबेज हो, जसले व्यक्तिको पहिचान दिन्छ । कुनै पनि व्यक्तिले राज्यद्वारा प्रदान गरिने अधिकारप्राप्त गर्ने आधार भनेको नै नागरिकता हो । व्यक्तिको नैसर्गिक अधिकारको रूपमा रहेको नागरिकता नभएको व्यक्तिको न पहिचान नै हुन्छ न राज्यद्वारा प्रदान गरिने अधिकार प्राप्तिको अवसर नै प्राप्त हुन सक्दछ । तर हामी निवेदकहरू सज्दा सापकोटा र असिम सापकोटा नागरिकताबाट वञ्चित गरिएका व्यक्ति हौं । हामीहरूको जन्म आमा अनिता सापकोटा र पिता शमिम सिद्धकीबाट क्रमशः मिति २०४४।३।१४ र मिति २०५०।११।४ मा भएको हो । मिति २०५३।८।६ गते हाम्रा पिताले आमालाई छाडी पुर्खौली घर बारा