निर्णय नं. ९६२८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६२८ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/१२/०१ ४४०३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।१२।१।२ ०६७-WO-०९१८ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ नरदेवी बस्ने कृष्णशरण मास्के विरूद्ध विपक्षी : नेपाल सरकार, रक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत सैनिक सेवामा कार्यरत निवेदकले पशु स्वास्थ्य औषधि उत्पादन आयोजना शाखामा गरेको सेवा अवधिको ७५ प्रतिशत अवधि जोडी निवृत्तिभरण पाउँ भनी दाबी गरेकै आधारमा कुनै पनि कानूनले त्यस्तो नोकरी अवधि जोड्न मिल्ने भनी नबोलेको अवस्थामा सो सेवा अवधिलाई जोड्न मिल्ने भनी अर्थ गर्नु कानूनसम्मत नहुने । (प्रकरण नं.८) सैनिक सेवा नियमावलीमा अन्यत्र सरकारी सेवामा गरेको अस्थायी सेवा अवधिलाई निवृत्तिभरणको प्रयोजनका लागि जोड्न पाउने गरी व्यवस्था नभएको अवस्थामा त्यसरी कानूनमै नभएको व्यवस्थाअनुसार कानूनविपरीतको त्रुटिपूर्ण निर्णय गरी अन्यत्र गरेको सेवा अवधिको ७५ प्रतिशत अवधि जोडी यी निवेदकलाई पेन्सनपट्टा दिने कार्यलाई कानूनअनुसार भएको कार्य मान्न नमिल्ने । (प्रकरण नं.९) कानूनविपरीतको निर्णयले वैधतासमेत प्राप्त नगर्ने भई त्यस्तो निर्णय सधैँ कानूनविपरीत नै हुने हुँदा जहिलेसुकै सच्याउन सकिने नै हुन्छ । यस्तो अवस्थामा सैनिक अभिलेखालयबाट भूलवस यी रिट निवेदकले अन्यत्र गरेको अस्थायी सेवाको ७५ प्रतिशत सेवा अवधि जोडी पेन्सनपट्टा दिई भएको निर्णय कानून प्रतिकूलको भन्ने थाहा भएपछि सो निर्णयलाई सोही अभिलेखालयबाट सच्याई यी निवेदकलाई पेन्सनपट्टा दिन नमिल्ने गरी भएको पछिल्लो निर्णयलाई गैरकानूनी भन्न नमिल्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय शम्भुराज आचार्य र रामचन्द्र आचार्य विपक्षीका तर्फबाट : सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे, विद्वान् अधिवक्ताद्वय डा. महेन्द्रजङ्ग शाह र मनदबहादुर कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा नियमावली, २०५० को नियम १२३ आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य यसप्रकार छ:- म निवेदकले मिति २०२५।६।२५ मा शाही नेपाली सेनामा क्लर्क अमल्दार पदमा नियुक्ति भई कार्यरत रहेकोमा मिति २०३६।७।१६ मा राजीनामा दिई उपदान लिई अवकाश लिएको थिएँ । २०३८।१०।६ देखि २०४७।१०।१४ सम्म जिल्ला केन्द्रीय पशु स्वास्थ्य औषधि उत्पादन आयोजना शाखा, त्रिपुरेश्वरमा रा.प. अनं. तृतीय पदमा अस्थायीरूपमा कार्यरत रहेको र पुनः मिति २०४७।१०।१४ बाट ग्यारिजन गणमा भर्ना भई सेवा गर्दै आएको थिएँ । यसै अवस्थामा साबिकको सेवा अवधि, अस्थायीको पचहत्तर प्रतिशत र हालको सेवा अवधि जोडी निवृत्तिभरणको लागि सेवा अवधि पुगेमा निवृत्तिभरण पाउने भन्ने जानकारी पाएकाले मेरो सुरू सेवा अवधि ११ वर्ष १ महिना ११ दिन, अस्थायी सेवा अवधिको ७५ प्रतिशतले हुने ६ वर्ष ९ महिना ९ दिन र तत्काल बहाल रहेको ग्यारिजन गणको सेवा अवधि १ वर्ष ६ महिना १ दिन गरी जम्मा १९ वर्ष ४ महिना १८ दिन सेवा अवधि कायम गरी राजीनामा दिएकोमा मेरो राजीनामा मिति २०४९।४।१५ मा स्वीकृत भएकाले मैले साबिकमा पाएको उपदानबापतको रू. २१४४.९८ रकम फिर्ता गरी मलाई निवृत्तिभरण दिइएको थियो । तत्पश्चात् मैले न