निर्णय नं. ९६३५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६३५ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/१०/१४ २७२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७२।१०।१४।५ ०७१-WO-०५६७ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : का.जि.का.म.न.पा.वडा नं. २१ मजिपाट बस्ने मैया रञ्जितकार विरूद्ध विपक्षी : पुनरावेदन अदालत, पाटनसमेत अ.बं.१७ नं. को रोहमा पुनरावेदन अदालतले गरेको आदेश परिवर्तन गर्ने अधिकारक्षेत्र माथिल्लो अदालतले सैद्धान्तिक विचलन वा कानूनको घोर उल्लङ्घन भएको अवस्थामा बाहेक प्रयोग गर्नु उपयुक्त हुँदैन । वस्तुत: मातहत अदालतमा परेका मुद्दाको काम कारवाहीमा म्याद नाघेको वा बेरीत भएको वा कार्यविधि कानूनको त्रुटि गरी आदेश गरेको स्पष्ट देखिएमा अदालतले बदर गर्नसक्ने हो । न्यायिक मनको प्रयोग गरी गरेको आदेश बदर गर्दा कार्यान्वयनयोग्य फैसलामा पर्ने प्रभावलाई पनि अदालतले सदैव ध्यान राख्नु पर्ने हुन्छ । अदालतको अन्तिम फैसला कुनै पनि हालतमा कार्यान्वित हुनपर्दछ भन्ने कुरामा विवाद हुन नसक्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्यामनारायण श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा र विद्वान् अधिवक्ता तिलप्रसाद गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (२) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : विपक्षी मणिन्द्रलालले मिति २०५७।६।१३, मिति २०५७।१२।९ मा रू.५,००,०००।– (पाँच लाख), रू.५,००,०००।– (पाँच लाख) गरी रू.१०,००,०००।– (दश लाख रूपैयाँ) र मिति २०६०।१२।६ मा रू.२५,००,०००।- (पच्चिस लाख रूपैयाँ) समेत जाहेरवाला विपक्षी कृष्णप्रसाद शिवाकोटीको परिवार विदेश पठाई दिनसमेत लागेकोमा विदेश नपठाई दिएकाले कारवाही गरी पाउन विपक्षी कृष्णप्रसाद शिवाकोटीसमेतको जाहेरीले विपक्षी मणिन्द्रलाल रञ्जितकार प्रतिवादी भएको वैदेशिक रोजगार ठगी मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएको रहेछ । निजले सो मुद्दा अनुसन्धानको सिलसिलामा धादिङ जिल्ला गजुरी गा.वि.स. वडा नं. ४ (ग), कि.नं. १८५, १८८, १२४ र १२५ का जग्गा जेथा जमानत राखी तारेखमा बसेका रहेछन् । सो मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणले मिति २०६८।८।२० मा विपक्षी मणिन्द्रलाल रञ्जितकारबाट जाहेरवालाले बिगो र हर्जनासमेत जम्मा रू.५२,२३,०००।– (बाउन्न लाख तेइस हजार रूपैयाँ) भरी पाउने ठहर्‍याई फैसला गरेको रहेछ । जाहेरवालाले सो बिगोमाथि उल्लिखित जेथा जमानत राखेको जग्गा, मेरो हक भोगमा आउने का.जि.का.म.न.पा. वडा नं २१, कि.नं. २१२१, ०-०-१-३ क्षेत्रफल जग्गा र सो जग्गामा बनेको घर लिलाम गरी भराई पाउन विपक्षी काठमाडौं जिल्ला अदालतमा दरखास्त दिएपश्चात् कारवाहीको क्रममा मलाई ७ दिने सूचना आएकाले अदालतमा उपस्थित भई कि.नं. २१२१ को जग्गा र घर मेरो एकलौटी हो । मणिन्द्रलाल मिति २०६०।३।२ मा अंश लिई छुट्टी भिन्न भएका मानिस हुन् । कि.नं. २१२१ को जग्गा र घरबाट लिलाम हुनुपर्ने होइन भनी निवेदन गरेकोमा सो अदालतले धादिङ जिल्ला गजुरी गा.वि.स. अन्तर्गतका ४ कित्ता जग्गामा कारवाही नचलाई कि.नं. २१२१ को घर र जग्गा मात्र लिलाम गर्न मिति २०७१।३।२३ गते सूचना प्रकाशन गरेकोले तत्काल रोक्का राखी पाउन निवेदन गरेकी थिएँ । मेरो निवेदनउपरको कारवाहीमा विपक्षी फैसला कार्यान्वयन अध