निर्णय नं. ९६४० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६४० - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०१/१५ ६७३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।१।१५।४ मुद्दा : कर्तव्य ज्यान ०६९-CR-०६५३ पुनरावेदक / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल कारागार कार्यालय काभ्रेमा थुनामा रहेका विकास खड्का विरूद्ध प्रत्यर्थी / वादी : केदार थापाको जाहेरीले नेपाल सरकार ०६९-CR-०६७१ पुनरावेदक / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल कारागार कार्यालय काभ्रेमा थुनामा रहेका सानुभाई भन्ने पूर्णबहादुर खड्का विरूद्ध प्रत्यर्थी / वादी : केदार थापाको जाहेरीले नेपाल सरकार ०७०-CR-०२३२ पुनरावेदक / वादी : केदार थापाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ बस्ने कृष्णबहादुर खड्कासमेत हाम्रो कानून प्रणालीमा कसुर गरेको कुरा वादीले शंकारहित तरिकाले पुष्टि हुने प्रमाण अदालतसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ र ती प्रमाणहरूको अदालतले वस्तुनिष्ट मूल्याङ्कन वा न्यायिक परीक्षण गरी न्याय निरूपण गर्दछ । कसैको भनाइलाई परीक्षण नै नगरी भनेको आधारमा मात्र कसुरदार कायम गर्दा निर्दोष व्यक्ति पनि कसुरदार ठहरिन सक्छ । केही गरी निरपराध व्यक्ति अदालतबाट कसुरदार ठहर हुन गए निजलाई हुन सक्ने अपूरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्तोमा निज तथा सिंगो समाजको अदालतप्रति र अन्तमा राज्यप्रति नै ठूलो कुण्ठासमेत उत्पन्न हुन जान्छ । त्यसैले कसुर गरेको भन्नेमा थोरैमात्र पनि शंका देखिएमा कसैलाई पनि कसुरदार ठहराउन नमिल्ने । (प्रकरण नं.६) प्रतिवादीहरूमा मार्ने मनसाय थियो थिएन ? यदि थियो भने के कुन हदसम्म थियो ? भनी हेर्नु सान्दर्भिक हुन आउँछ । कुनै पनि कसुरका सम्बन्धमा मनसाय तत्त्वलाई छुट्टै मापन गर्ने कुनै यान्त्रिक विधि छैन । यसलाई आपराधिक कार्य गर्दा गरेका गतिविधि, तत्कालीन परिस्थिति, घटनाको पृष्ठभूमि, कसुरदारको संलग्नता, पीडितलाई पुग्न गएको चोट आदि जस्ता विषय सापेक्ष रही हेर्नुपर्ने । (प्रकरण नं.१२) मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने उल्लेख छ । यसबाट भवितव्य हुनलाई ज्यान मार्ने कुनै मनसाय रहेको हुनु हुँदैन र आफूले गरेको कामबाट मानिस मर्ला भन्ने परिणामको ज्ञान पनि यसमा हुँदैन । यस्तो अप्रत्यासित अवस्थामा केही गर्दा घटना घटेको वा मानिस मरेको भएमा मात्र भवितव्य भएको मानिन्छ । यसलाई आकस्मिक घटना वा दुर्घटनाका रूपमा लिइन्छ । त्यसैले भवितव्य हो भन्नलाई वारदात घटाउने मनसाय नभएको, गर्न खोजेको कार्य र त्यसमा प्रयोग भएका साधन वैध रहेको, यस्तो गर्दा वारदातको यस्तो परिणाम आउला भनी नदेखिएको, कार्य गर्न प्रसस्त सावधानी अपनाएको जस्ता कुरा पुष्टि हुन सक्नुपर्ने । कर्तव्य ज्यान हुन मार्ने मनसाय धेरै अघिदेखि रहेको देखिनु पर्ने भन्ने आवश्यक हुँदैन, घटनाको तत्काल अघि पनि कुनै कारणले इवी तथा मनसाय सृजना भएको हुन सक्छ । त्यस्तै यसमा भएको मासु किनी दिनु भन्नु, नकिनी दिँदा झगडा गर्नु, झगडाकै क्रममा कुटपिट गर्नु र घचेट्नु, घचेटेपछि पनि