निर्णय नं. ९६५४ - सेवा प्रवेशका लागि झुट्टा शिक्षक अनुमतिपत्र पेस गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६५४ - सेवा प्रवेशका लागि झुट्टा शिक्षक अनुमतिपत्र पेस गरी भ्रष्टाचार गरेको भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/१०/१० ३२७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।१०।१० ०६९-CR-०६६४ मुद्दाः सेवा प्रवेशका लागि झुट्टा शिक्षक अनुमतिपत्र पेस गरी भ्रष्टाचार गरेको पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला कविलासी गा.वि.स. वडा नं.१ स्थायी ठेगाना भई श्री जनता मा.वि., अगर्वामा प्रा.वि. तृतीय तहमा कार्यरत संजीवकुमार राय विरूद्ध विपक्षी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत महेश थापाको प्रतिवेदनले नेपाल सरकार झुट्टा योग्यता, झुट्टा प्रमाणपत्र पेस गरी लाभ लिने कुरा भ्रष्टाचार निवारण ऐनअन्तर्गतका कसुर भई भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही हुने विषय हुन् । निवेदकको नियुक्तिको वैद्यतामा कुनै व्यक्ति विशेषले नालेस गर्नु र नक्कली व्यहोराको लिखत पेस गरी लाभ प्राप्त गर्‍यो भन्ने विषय, यसमा मुद्दा चलाउनु पर्ने अधिकारी वा व्यक्ति र मुद्दाको कारवाहीको प्रक्रिया नै छुट्टाछुट्टै हुन्छ । नियुक्ति दिने क्रममा अख्तियारप्राप्त निकायले प्रचलित कानूनले तोकेको प्रक्रिया नपुर्‍याई गैरकानूनीरूपमा नियुक्त गरेमा नियुक्ति कानूनबमोजिम छ, छैन भनी रिट निवेदनको रोहमा यस अदालतले जाँच्ने हेर्ने गर्दछ । यस्ता नियुक्ति प्रक्रियाका बारेमा परेको निवेदनले कानूनले भष्ट्राचारको कसुर हुने भनी निर्धारण गरेका झुट्टा प्रमाणपत्रको अनुसन्धान गर्ने विषयलाई प्रभाव पार्न सक्दैन । आफूले हासिल गरेको शिक्षण अध्यापन अनुमतिपत्र आधिकारिक निकायबाट जारी भएको सद्दे साँचो हो भनी प्रमाणित गर्ने दायित्व सरकारी सेवामा लाभ लिने उद्देश्यले पेस गर्ने व्यक्तिमा नै निहित हुन्छ । प्रमाणको परीक्षण गरी सद्दे वा झुट्टा के हो भनी निर्णय गर्ने विषय रिट निवेदनबाट उपचार प्रदान गर्ने विषयवस्तु हुन सक्दैन । झुट्टा प्रमाणपत्रको विषय राज्य र समाजलाई असर पार्ने गम्भिर प्रकृतिको सरकारवादी अपराध हुने हुँदा शिक्षक छनौट सम्बन्धमा अनियमितता भयो भनी पहिले निवेदन दर्ता गरेको विषयले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी लाभ लिएको सम्बन्धमा अनुसन्धान गरी कानूनबमोजिम मुद्दा चलाउने अधिकारलाई असर पार्छ भनी अर्थ गर्न न्यायोचित नहुने हुँदा दोहोरो मुद्दा चलाइयो भन्ने प्रतिवादीको पुनरावेदन जिकिर उचित रहेको नदेखिने । (प्रकरण नं. ३) भ्रष्टाचारको कसुरमा जुनसुकै व्यक्ति वा निकायलाई सूचना उजुरी दिने अधिकार कानूनले प्रदान गरेको अवस्थामा नक्कली अध्यापन अनुमतिपत्रको आशङ्कामा अनुसन्धान गर्न राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेसम्मको कार्यलाई अनुसन्धान गरी कारवाही चलाएको संज्ञा दिन नमिल्ने हुँदा गैरकानूनी निकायले अनुसन्धान गरेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर उपयुक्त नदेखिने । (प्रकरण नं. ४) कानूनले आफूले हासिल नगरेको योग्यता हासिल गरे भनी कसैले गलत झुट्टा प्रमाणपत्र पेस गरी लाभको पद हासिल गर्छ भने त्यो भ्रष्टाचारको कसुर हुने भनी सजायसमेतको व्यवस्था गरेको देखिन्छ । कसैले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी लाभ हासिल गरिसकेपछि आफूबाट भएको गलत कार्य सार्वजनिक भएको कारणले सजायबाट बच्ने उद्देश्यले पहिला लाभ लिइसकेको पदलाई परित्याग गर्दैमा उसले पहिले गरेको गैरकानूनी कार्यको कसुरबाट उन्मुक्ति पाउन सक्दैन