निर्णय नं. ९६६६ - अंश दर्ता चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६६६ - अंश दर्ता चलन भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०८/१६ ६०२३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।८।१६ ०६८-CI-१२१४ मुद्दा : अंश दर्ता चलन । पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा उमाप्रेमपुर गा.वि.स. वडा नं. १ बस्ने विष्णुमाया मगर्नीसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला धनुषा उमाप्रेमपुर गा.वि.स. वडा नं. १ बस्ने लक्ष्मी क्यापछाकीको हकमा संरक्षिका भई आफ्नो हकमा समेत ऐ. बस्ने डुकुमाया क्यापछाकी वस्तुतः अंशबन्डाको महलको १ र २ नं. को व्यवस्था भनेको अंश पाउने व्यक्तिको नैसर्गिक हकको प्रत्याभूत गराउने कानूनी व्यवस्था हो । उक्त व्यवस्थाले कुनै अंशियारलाई आफ्नो भागको अंश पूर्ण वा आंशिकरूपमा परित्याग गर्न रोक नलगाएको भए पनि नियोजित र दुराशययुक्तरूपमा आफूपछिका अंशियारलाई निरंशी बनाउने उदेश्यले अंश हक परित्याग गर्न छुट दिएको भन्ने देखिन नआउने । (प्रकरण नं. ७) सामान्यतया सन्तानले आफ्नो बाबुआमाबाट नै अंश पाउने हो । बाबुले आफ्नो पुर्ख्यौली सम्पत्तिबाट आफ्ना अन्य अंशियारबाट अंश पाउने हो । तर सगोलमा बसेको अवस्थामा बाबुबाजे छोरानाति पनातिसमेत एक आपसमा भरपर्ने गरेको हुन्छ । अविभाजित सम्पत्तिबाट नै सबैको निर्वहन गर्नुपर्ने हुन जाने । अविभाजित सगोलको सम्पत्तिमा प्रत्यक्षतया अंशको हक लाग्ने पहिलो पिँढीको अंशियारहरूकै हक रहन्छ र अंशियारका छोराछोरी नाति नातिनीहरूलाई अंशियारको नाताबाट अर्को चरणको परोक्ष हक रहन जान्छ । तथापि ती सबै हकहरू कानूनबमोजिमकै हक हुन्छन् । सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन मिल्ने देखिँदैन । यस अर्थमा पितापुर्खाको पालाको सम्पत्तिबाट अंशियारका सन्तानहरूले अंश पाउने हुनाले प्रथम वा अघिल्ला पुस्ताका अंशियारले कानूनबमोजिम भागशान्ति न्यायोचितरूपमा पाउने भई सो यथार्थमा पनि लिए पाएको हुन जरूरी हुन जाने । (प्रकरण नं. ८) अंश अपुतालीको हक सम्पत्तिको हकसँग सम्बन्धित छ । अंशको हकको कुरा गर्दा अंशियारले अंश लिनुपर्ने भन्ने बाध्यता सिर्जना गर्न मिल्दैन । हक लाग्ने अंशियारहरूले आफ्नो हक परित्याग गर्न नपाउने होइन । तर त्यस्तो हक परित्याग गरेको कुरा निजको स्वेच्छामा आधारित हुनुपर्छ र त्यसले निजको हकमा सम्म बन्धनकारी हुन सक्दछ । अंशियारको हकमा अंशियार र निजको स्वास्नी छोराले समेत मन्जुरीले हक परित्याग गर्दछ भने त्यसमा अरूले चिन्ता लिनुपर्ने कुरा पनि हुँदैन । तर प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्टयाउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मन्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहने । (प्रकरण नं. ९) सामान्यतया बाबु आमाले आफ्नो सन्तानको अंश हक वा कानूनबमोजिम पाउने भागमा नै प्रतिकूल असर पर्ने गरी व्यवहार गर्ने अपेक्षा गरिँदैन । तर बाबु वा आमाबीच र छोराछोरीबीच कुनैरूपमा सम्बन्ध बिग्रेको अवस्थामा त्यस्तो प्रतिकूल परिणाम निकाल्ने गरी आत्मघातीरूपमा पनि अंश लिनु दिनु गर्दैनन् भन्न सकिँदैन । सगोलको सम्पत्तिमा प्र