निर्णय नं. ९६७१ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६७१ - परमादेश भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/१२/२२ ३३३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।१२।२२ ०७२-WO-०४४६ मुद्दा: परमादेश निवेदक : काठमाडौंं जिल्ला, काठमाडौंं महानगरपालिका वडा नं. १० स्थित स्काई अफ द वल्ड म्यान पावर प्रा.लि. को अधिकार प्राप्त भई आफ्नो हकमा समेत खोटाङ जिल्ला दिक्तेल गाउँविकास समिति वडा नं.९ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं. १ बस्ने कुमार पुरी विरूद्ध विपक्षी : वैदेशिक रोजगार विभाग, काठमाडौंं महानगरपालिका वडा नं. ३४ बुद्धनगरसमेत वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि अनुमति दिनबाट रोक लगाउने व्यवस्था रहे भएको देखिँदैन । कुनै कानूनले कुनै पेसा वा व्यवसाय सञ्चालन गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध नलगाएको स्थितिमा बिना कानूनी आधार कार्यकारी आदेश वा निर्णयका आधारमा मात्र नागरिकलार्इ संविधान र कानूनले प्रदान गरेको पेसा वा व्यवसाय सञ्चालन गर्न पाउने हकमा रोक लगाउन नमिल्ने । अनुमति राज्यका साधिकार निकायले विधिवत्रूपमा कम्पनी दर्ता गर्न अनुमति दिई धरौटी तथा बैंक ग्यारेन्टीसमेत माग गरेको र सबै प्रक्रिया पूरा गरिसकेपछि उपयुक्त निर्णय नगर्नुलाई कानूनी शासन अनुकूल मान्न नसकिने । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११(६) मा “ उपदफा (२) बमोजिम निवेदन जाँचबुझ गर्दा इजाजत पत्र दिन नमिल्ने भएमा विभागले कारणसहितको जानकारी इजाजत पत्र दिन नमिल्ने निर्णय भएको सात दिनभित्र निवेदकलार्इ दिनुपर्नेछ ” भन्ने पाइन्छ । सोबमोजिम निर्णय वा जानकारी भएको भन्ने पनि विपक्षीको लिखित जवाफ देखिँदैन । राज्यको वैदेशिक रोजगार विभाग तथा अन्य विभागहरू कानूनले तोकेबमोजिम आ-आफ्नो क्षेत्रका विशिष्ट काम गर्ने निकायहरू भएकोले सो निकाय एवं सोको पदाधिकारीले आफ्नो क्षेत्र तथा कर्तव्यमा जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्नुपर्छ । वैदेशिक रोजगार विभागलाई "वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नवीकरण, कारवाही तथा संस्था खारेज गर्ने" लगायतका जो जे कार्यहरू गर्न अधिकार प्राप्त छ उक्त कार्यहरू संविधान र कानूनबमोजिम सम्पादन गरी कानूनबमोजिम पेसा व्यवसाय सञ्चालन गर्न खोजेको अवस्थामा सहजीकरण गर्नुको सट्टा अवरोध सिर्जना हुदा कानूनी शासन र जनआस्थामा असर पुग्न जाने र अस्वस्थ प्रतिस्पर्धालार्इ बढवा जाने अवस्थासमेत सिर्जना हुन जाने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ नेपालको संविधान, २०७२ आदेश न्या. गोपाल पराजुली : नेपालको संविधान, २०७२ को धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार छः- निवेदक विगत लामो समयदेखि वैदेशिक रोजगारको व्यवसायमा संलग्न रही विभिन्न म्यानपावर कम्पनीहरूसँग संलग्न भई काम गर्दै आएकोमा मिति २०६८/४/३० मा स्काई अफ द वल्ड म्यानपावर प्रा.लि. कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा दुई जनाको नाममा दर्ता गरी हाल म निवेदकको मात्र एकल स्वामित्वमा रहेको छ । सो कम्पनीमार्फत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विपक्षी विभागमा ऐन, नियमअनुसार आवेदन गरेकोमा विपक्षी विभागको मिति २०६८/५/२९, च.न