निर्णय नं. ९६७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६७९ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०४/१८ ३७९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला मिति : २०७३।०४।१८ ०७०-WO-०६६३ विषय : उत्प्रेषण निवेदक : पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका वडा नं. १३ आदर्शनगरमा प्रधान कार्यालयरहेको त्रिवेणी टेक्सटाइल उद्योग प्रा.लि. तथा व्यवस्थापकको अधिकार प्राप्तवाला ऐ. का महाप्रबन्धक ऐ.ऐ. बस्ने वर्ष ५० को कैलाश मिश्र विरूद्ध विपक्षी : श्रम अदालत, अनामनगर, काठमाडौंंसमेत लगातार ३० दिनभन्दा बढी प्रतिष्ठानमा उपस्थित नभई गयल भएमा सेवाबाट हटाउन सकिनेछ भन्ने उल्लेख भएको हुँदा उक्त नियमावलीको व्यवस्थाले स्वत: कामदार कर्मचारीलाई ३० दिनभन्दा बढी गयल हुने बित्तिकै हटाइहाल्ने भन्ने होइन, त्यसका पनि निश्चित सर्तहरू पूरा गर्नुपर्ने देखिन्छ । श्रम ऐनको दफा ५१(ग२) मा उक्त लगातार ३० दिनभन्दा बढी समयसम्म प्रतिष्ठानमा उपस्थित नभएमा भन्ने खराब आचरणमा कारवाही गर्दा दफा ५३ बमोजिम सुनुवाइको मौका दिन स्पष्टीकरण सोध्नुपर्छ त्यसरी स्पष्टीकरण सोध्दा जवाफ दिन पनि ७ दिनको म्याद दिनुपर्ने हुन्छ । उक्त नियमावलीको नियम ३७(२) बमोजिमको कसुर र दफा ५१(ग२) बमोजिमको कसुर एउटै भएको हुँदा समान कसुरमा एउटामा सुनुवाइको मौका दिएर हटाउनु पर्ने र अर्कोमा सुनुवाइको मौका नदिई हटाउन सकिन्छ भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ५) प्रतिष्ठानमा काम गर्ने कामदार कर्मचारीले ऐन र नियमावलीद्वारा निषेध गरिएका काम गरेमा त्यस्ता कामदार वा कर्मचारीलाई तोकिएको सजाय गर्न पाउने कुरामा विवाद छैन तर त्यसरी सजाय दिँदा कानूनद्वारा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ऐनद्वारा सेवाबाट हटाउने वा कुनै सजाय दिनुअघि त्यसबारे सम्बन्धित कर्मचारी वा कामदारलाई जानकारी दिनु सम्बन्धित प्रतिष्ठानको दायित्व हो र त्यस्तो दायित्वबारे श्रम ऐन, २०४८ को दफा ५३ ले झन स्पष्ट गरेको छ । आफूलाई लागेको अभियोगबारे जानकारी पाउनु सम्बन्धित कामदार वा कर्मचारीको अधिकारको विषय हो र प्राकृतिक न्यायको सिद्धान्तको आधारमा समेत त्यस्तो अधिकार राख्ने । प्राकृतिक न्यायको सिद्धान्त र ऐनको स्पष्ट व्यवस्था रहँदा रहँदै पनि नियममा त्यस्तो व्यवस्था नभएको भन्नु एकांगी व्याख्या हुन जान्छ । कुनै ऐन नियमको व्याख्या गर्दा सो ऐन नियमको सम्पूर्ण व्यवस्था र त्यसको उदेश्यको आधारमा गर्नुपर्छ, एउटा दफा वा नियमलाई मात्र टेकी अन्य दफा वा नियमका व्यवस्थालाई बेवास्ता गरी ऐनका दफा र नियमको व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता रमेश बडाल अवलम्बित नजिर : सम्बद्ध कानून : श्रम ऐन, २०४८ श्रम नियमावली, २०५० फैसला न्या. दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छः- निवेदक प्रा.लि. तत्कालीन कम्पनी ऐन, २०२१ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंंमा दर्ता भई कर प्रयोजनको लागि प्यानमा समेत दर्ता भएको छ । यसको मुख्य काम कपडा उत्पादन गरी बिक्री वितरण गर्ने हो । यस प्रतिष्ठानमा काम गर्ने श्री संजय पटेल विगत ५ महिनादेखि आफ्नो काममा उपस्थित नभएकोले श्रम ऐन, २०४८ को दफा ५१(ग)२ तथा श्रम नियमावली २०५० को नियम ३७ को उपनियम २ बमोजिम सेवाबाट बर्खास्त ग