निर्णय नं. ४३०४ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३०४ - हकसफा भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/०३ ३३३४ निर्णय नं. ४३०४ ने.का.प. २०४८ अङ्क ६ पूर्णइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको दे.पु.इ.नं. ८० फैसला भएको मिति: २०४८।६।३।५ मा पुनरावेदक/वादी : नुवाकोट जिल्ला बेलकोट गा.वि.स. वडा नं. १ बस्ने नीलकण्ठ कंडेलसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने हरिमाया कंडेलसमेत मुद्दा : हकसफा (१) घर निखन्न वादीहरुले दावी लिई थैली धरौट नराखेको स्थितिमा सो घर अवस्थित जग्गा निखनाई दिंदा घर एकजनाको र जग्गा अर्काको हुन गई खण्डे निखन्ने अवस्था हुन जाने हुन्छ तसर्थ घर भएको जग्गामा घर ननिखनी घर भएको जग्गा मात्र निखन्न दिन नमिल्ने । (प्रकरण नं. १५) (२) लेनदेन व्यवहारको ११ नं. को ऐनले सन्धिसर्पन पर्ने हकवालाले निखनी लिन पाउने व्यवस्था गरेको समेत पाइन्छ, यस स्थितिमा घर भएको जग्गा बाहेक अरु जग्गा वादीहरु सन्धिसर्पन पर्ने हकवाला भन्ने कुरामा विवाद नभएपछि वादीहरुले प्रतिवादीबाट निखनी लिन पाउँदैन भन्न न्यायको दृष्टिले मिल्ने देखिँदैन । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवनाथ पंत (साविक पेज नं. २६५) फैसला न्या.हरगोविन्द सिंह प्रधान १. वागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति दिन मिलेन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश उपर अनुमति पाउँ भनी परेको निवेदन सर्वोच्च अदालत संयुक्तइजलासको आदेशानुसार अनुमति प्राप्त भई पुनरावेदन परी सर्वोच्च अदालत संयुक्तइजलास समक्ष पेश भएकोमा माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. एकादन्तका ३ भाइ छोरामा जेठा पुष्पराज, माहिलो निलकण्ठ, कान्छो भोजराज जेठाको मृत्युपछि निजकी श्रीमती हरिमायाले अंश मुद्दा परी ३ भागको १ भाग अंश लिई वेलकोट गा.पं. वडा नं. १ कि.नं. १०२१, १०२३, १०२५, १०२७, १०२९, १०३१, १०३३, १०३५, १०३७, १०३९ र १०४१ हामी दुवै भाइ बसोबास गरी आएको ९+१३ को ढुंगाको छाना भएको २ तले घर दुई समेत पूरै विपक्षी शमशेर मिजारलाई बिक्री गरेको कुरा गाउँघरमा चाल पाई विपक्षीलाई भन्दा अंक र मिति समेत नभनी हकसफा गर्न दिन बेमञ्जूर गरेकोले मेरो समेत हकको घर समेत पूरै बिक्री गरेकोले लिखत बदरतर्फ छुट्टै फिराद गर्ने हुँदा लेनदेन व्यवहारको ११ नं. को म्यादभित्र मिति २०४२।१२।१७ मा पारीत गरी लिएको रु. २०,०००।– मध्ये घर दुईको मूल्य रु. १४,७००।– कट्टा गरी बाँकी जग्गा तर्फ मूल्य रु. ५,७००।– रजिष्ट्रेशन दस्तूर रु. ३९९।– समेत यसै दर्खास्तसाथ धरौट राख्न आएको छु । विपक्षीलाई बुझाई हकसफा गराई पाउँ भन्ने वादी दावी । ३. वादीहरुले दावी गरे अनुसार म हरिमाया कँडेलले अंश भाग पाएको घर जग्गा हो भन्ने कुरा वादीहरु स्वयं सावित भएकोले २ वटा घरतर्फ अदालतमा लिखत बदर फिराद गरे तापनि अंश हकको घर मैले एकलौटी आफूखुस गर्न कानुनले पाउने हुँदा त्यसतर्फ प्रतिवाद गरी दिन र लिन मिल्ने भएकोले इन्साफ गरी माग्ने छु । हामीहरुले उक्त जग्गा बिक्री वितरण गरी लिने दिने कुरा विपक्षीलाई थाहा नै थियो । घर र जग्गा पारीत भएको भन्ने कुरा लिखतबाट प्रष्ट देखिएकोले जग्गा मात्र निखनी लिन पाउँ भनी दिएको दावी विलकूल गलत छ । घरले चर्चेको जग्गा निखनाई दिन मेरो मञ्जूर छैन मैले घरवासको लागि खरिद गरेको हो भन्ने शमशेर मिजारको समेत प्रतिउत्तर जिकिर । ४.