निर्णय नं. ९६९१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६९१ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७२/१२/२८ २६०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।१२।२८ ०७१-RC-००७४ मुद्दा : कर्तव्य ज्यान वादी : खड्गबहादुर वलीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला बर्दिया, बर्दिया नगरपालिका वडा नं. ५ बस्ने तुलबहादुर रोकाय मृतकले लगाएको गहनाहरू निजको लाससँग नरहनु र प्रतिवादीको आकस्मिक आर्थिक गतिविधिले पनि प्रस्तुत वारदातमा यी प्रतिवादीको संलग्नता थप पुष्टि हुन गएको पाइने । (प्रकरण नं. ८) अपराध हुँदाहुँदैको अवस्था देख्ने चस्मदिद् गवाह मुद्दामा नहुन पनि सक्दछ । चस्मदिद् गवाह नभएको अवस्थामा पनि अपराधी यही नै हो भनी ठम्याउन वस्तुनिष्ठ र परिस्थितिजन्य प्रमाणबाट पनि सकिन्छ । घटित अपराधको प्रकृति अपराध हुनुअघि र पछिका घटना र प्रतिवादीको हाउभाउसहितको व्यवहार आदि सबैतर्फबाट अपराधी को हो भनी देखाई रहेको अवस्था चश्मदिद गवाह छैन वा अदालतमा अपराधमा इन्कारी बयान गरेकै कारणले मात्र सफाइ दिनु न्यायोचित नहुने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. सुरू तहबाट फैसला गर्नेः- माननीय जि. न्यायाधीश श्री धनसिंह महरा पुनरावेदन तहबाट फैसला गर्नेः- मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १०बमोजिम साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म टप्पर महिला सामुदायिक वनको बनपाले हुँ । म काम विशेषले वनको रेखदेख गर्न जान नसकेको अवस्थामा मेरी श्रीमती सेती ओली वनको रेखदेख गर्न जाने गर्दथिन । यस्तैमा मिति २०६८।११।२४ गते मेरी श्रीमती वनको रेखदेख गर्न गएकीमा सो दिन बेलुकीसम्म घर फर्की नआएकीले जंगलमा खोजतलास गर्दै जाने क्रममा मिति २०६८।११।२५ गते बिहान घाँटी रेटी मरेको अवस्थामा जंगलमा भेटीएकीले कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको खड्गबहादुर ओलीको जाहेरी दरखास्त । जिल्ला बर्दिया गुलरीया नगरपालिका ५ टप्पर महिला सामुदायिक वनस्थित पूर्व सिसमको ठूलो रूख, पश्चिममा सिसमको ठूलो रूख र झाडी, उत्तरमा सिसमको रूख, दक्षिणमा ससाना बुट्यान झाडी यति चार किल्लाभित्र रहेको बनमाराको झाडीभित्र लुकाई राखेको मृतकको लास, उत्तर टाउको, दक्षिण खुट्टा, बायाँ हात तल, दायाँ हात माथि खुम्चिएको, पूर्वतर्फ अनुहार पारी अर्ध घोप्टो अवस्थामा रहेको मृतकको लास उल्टाई पल्टाई हेर्दा घाँटीको अगाडिको भाग धारिलो हतियारले श्वास नलीसमेत काटिएको ठूलो घाउ रहेको सो घाउबाट रगत बगी भुईंमा रगत लागेकोसमेत भन्ने व्यहोराको घटनास्थल लास जाँच मुचुल्का । Cause of Death “Most Probably due to hemorrhagic shock and asphyxia due to cut trachea” भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन । मेरी श्रीमती सेती वली टप्पर महिला सामुदायिक वनको चौकीदारको रूपमा काम गर्न गएको अवस्थामा मिति २०६८।११।२४ गते जिल्ला बर्दिया गुलरिया नगरपालिका ५ बस्ने तुलबहादुर रोकायाले मेरी श्रीमतीले नाक र कानमा लगाएको सुन लगी खाने नियतबाट धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेकोले कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको खड्गबहादुर ओलीको किटानी जाहेरी दरखास्त ।