निर्णय नं. ९७४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७४७ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: बैशाख अंक: १ फैसला मिति :२०७३/०१/१४ ४७७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७३।०१।१४ ०६७-RC-०१०२ मुद्दा: कर्तव्य ज्यान । वादी : निरकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : खोटाङ जिल्ला खार्मी गा.वि.स.वडा नं.७ घर भई हाल कारागार कार्यालय, खोटाङमा कैदमा रहेका शैलेन्द्र श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा आपराधिक कार्य र मनसायको विद्यमानता जरूरी हुन्छ । प्रतिवादीको प्रहार गरेको चोटबाट मृतक महेन्द्रको मृत्यु भएकोले प्रतिवादीबाट प्रत्यक्षरूपमा आपराधिक कार्य भएको स्पष्ट छ । प्रतिवादीले पूर्व योजना र तयारीका साथ प्रस्तुत वारदात घटित गराएको नदेखिए तापनि एउटा साधारण समझ र मिजासको मानिसले खुकुरी जस्तो जोखिमी हतियारले जथाभावी प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सहजै बुझ्न सकिने विषय हो । तसर्थ, प्रतिवादीले मृतकउपर धारिलो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरेको कार्यले मनसाय तत्त्वलाई समेत अप्रत्यक्षरूपमा प्रकट गरेको मान्नुपर्ने । (प्रकरण नं. ५) अपराधीलाई सजाय गर्नुको उद्देश्य अपराधीबाट समाजको सुरक्षा गर्नु, भविष्यमा त्यस प्रकारका अपराध गर्न उन्मुख व्यक्तिलाई हतोत्साहित गराउनु, आफूले गरेको अपराधको प्रायश्चित गराई निजलाई सुधार गरी भोलि कानूनपरायण नागरिक बनाई समाजमा पुनर्स्थापित गर्नु र पीडित पक्षलाई सान्त्वना दिलाउनु हो । त्यसैले अपराधको प्रकृति, वारदात हुँदाको अवस्था र परिस्थिति पीडित पक्षले वारदातमा खेलेको भूमिका, पीडक अर्थात् कसुरदारले अपराध घटेपछि खेलेको भूमिका र घटनाप्रति आफूले गरेको प्रायश्चितसमेतलाई दृष्टिगत गरी अपराध र सजायमा सन्तुलन हुने गरी सजाय दिइनु र हुनुपर्ने । (प्रकरण नं. ६) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता गणेशबहादुर गुरूङ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने: मा.जि.न्या.श्री दयानाथ खरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री अलिअकबर मिकरानी फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाँचको लागि र सोही ऐनको दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छ:- खोटाङ जिल्ला खार्मी गा.वि.स.वडा नं.७ बस्ने सम्बरबहादुरको घरपछाडि भएको खानेपानीको धाराबाट पाइप लगाई घरमा पानी लगेकोमा उक्त पाइप शैलेन्द्र श्रेष्ठसमेतले काटेको विषयलाई लिएर विवाद भएपछि पानीकै धारानजिक गएर सोही बारेमा कुरा गर्नलाई दाजु उपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ साथी सुर्यबहादुर तामाङ र म मिति २०६५/०८/२० गते बेलुका अं.७:०० बजेको समयमा गएको अवस्थामा प्रतिवादी शैलेन्द्र श्रेष्ठसमेतले हात हातमा लाठी, खुर्मी, खुकुरी लिई हामीमाथि प्रहार गर्दा महेन्द्र श्रेष्ठलाई लागी उनी भुइँमा ढले। मसमेत घाइते भएपछि मान्छे मर्यो भन्दै कराउँदा हामीलाई बचाउन आउने काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, विनोद श्रेष्ठसमेतलाई हिर्काई काटी घाइते पारेको र महेन्द्र श्रेष्ठको मृत्यु भएको हुँदा अपराधीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भनी निरकुमार श्रेष्ठले दिएको जाहेरी दरखास्त । नाक अनुहारमा रगत लागी सुकेको, छातीको बायाँपट्टिको १/२ इन्च लामो निल रहेको, दाहिने हातको बुढी औंठाबीचमा काटिएर छिनी छालाले मात्र अडिएको, चोरी औंठा काटिएर टुप्पो छ