निर्णय नं. ९६९७ - अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६९७ - अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०३/०५ १०६३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७३।०२।०५ ०६७-CI-०३६५ मुद्दाः अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत पुनरावेदक/प्रतिवादी : जिल्ला उदयपुर सुन्दरपुर गाउँ विकास समिति वडा नं ६ बस्ने भोलानाथ चौधरीसमेत विरूद्ध प्रत्यर्थी/वादी : ऐ ऐ वडा नं ७ बस्ने साधु दास चौधरी एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको पाइन्छ । अंशियारहरू जहाँसुकै रहेबसे पनि ती अंशियारहरू विधिवत् छुट्टिभिन्न भएका हुन्, होइनन् र तिनिहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो होइन भन्ने तथ्यगत विश्लेशणबाट निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अलग अलग घर हुनुलाई नै छुट्टिभिन्न भएका हुन् भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक प्रतिवादका तर्फबाट : विद्वान् अधिवक्तात्रय श्यामप्रसाद पाण्डे, सुरेन्द्र थापा र श्रवणकुमार चौधरी प्रत्यर्थी वादीका तर्फबाट : अधिवक्ता ओमप्रकाश चौधरी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. प्रमाण ऐन, २०३१ को दफा ६(क) सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री शिवप्रसाद पराजुली पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री शिवनारायण यादव फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । हाम्रो मूल पुर्खा लोदरको छोरा मोहनलाल, मोहनलालको छोरा जेठो नथरू, माइलो विपक्षीमध्येको तेजनारायण र कान्छो म फिरादी साधु दास हौं । पिता मोहनलाल र आमाको पहिले नै कालवस परलोक भएको, जेठो नथरू बाबु आमा जीवित छँदै आफूले पाउन अंशको सम्पत्ति बुझी आआफ्नो खति उपती बेहोरी २०१५ सालमै छुट्टि भिन्न भएको र म फिरादी तथा विपक्षी तेजनारायण एकासगोलमै बसी आएकोमा परिवार संख्या ठूलो भई व्यवहार गर्न गाह्रो परेकोले छुट्टि भिन्न हौं भनी बारम्बार अनुरोध गर्दा हुन्छ भन्दै टार्दै आएको र सम्पूर्ण चल अचल सम्पत्ति विपक्षी तेजनारायण कै जिम्मा रहेको हुँदा २०६० साल फाल्गुण १६ गतेका दिन समाज राखीभन्दा म तँलाई अंश दिन्न, मेरो नामको सम्पत्ति मैले आफ्ना छोराहरूलाई बन्डा लगाई दिई सकेँ, तैलेँ अब मबाट अंश पाउँदैनस् भनी भनेकाले मालपोत कार्यालय, उदयपुरमा आई हेर्दा म मूल अंशियारलाई कुनै थाहा जानकारी नै नदिई विपक्षी तेजनारायणले आफ्ना छोराहरू मेरा भतिजा विपक्षीहरू भोलानाथ, शिवनाथ र विशेश्वरलाई र.नं. १२६६ मिति २०६०।१०।१९ मा जालसाजी तवरबाट मेरो भाग नै नराखी आफूहरूलाई फाइदा र मलाई घाटा हुने गरी अंश बुझेको भरपाई लिखत खडा गरी सम्पत्ति पारित गरी दिनु लिनु गरी मलाई अन्याय गरेकाले विपक्षी तेजनारायण चौधरी जिम्माको सम्पूर्ण चल अचल सम्पत्तिमा मेरो आधा अंश हक लाग्ने हुँदा विपक्षीहरूले जालसाजी प्रक्रियाबाट पारित गराएको उक्त मिति २०६०।१०।१९ को र.नं. १२६६ को अंश भरपाई लिखत बदर गरी उक्त लिखतबाट भएका विपक्षीहरू भोलानाथ, शिवनाथ र विशेश्वर चौधरीका नामको जग्गा दर्ता बदर गरी बाँकी चल अचल सम्पत्तिको समेत तायदाती फाँटवारी लिई मेरो अंशमा पर्