निर्णय नं. ९७४८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७४८ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: बैशाख अंक: १ फैसला मिति :२०७३/०४/२७ ४१६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।४।२७ ०७१-CR-०२९४ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक प्रतिवादी : दाङ जिल्ला, बाघमारे गा.वि.स.वडा नं.१ घर भई हाल कारागार कार्यालय घोराही, दाङमा थुनामा रहेको गोवर्धन सार्की विरूद्ध प्रत्यर्थी वादी : लेखत सार्कीको जाहेरीले नेपाल सरकार दाउरा जस्तो कडा वस्तुले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्ने कुरा जो सुकै सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिन्छ । प्रतिवादी पनि त्यस्तो जानकारी राख्न नसक्ने तथा सोको पूर्वानुमान गर्न नसक्ने अवस्थामा रहे भएको थिए भनी भन्न सकिने देखिँदैन । यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको पूर्व रिसइवी रही सो अनुसारको तयारी तथा योजना बनाएको नदेखिए पनि यस्तो परिणामको पूर्व जानकारी रहन सक्ने प्रशस्त अवस्था रहेको स्थितिमा गरेको कार्यलाई मनसाय नभएको मान्न सकिँदैन । यस्तो परिणामको पूर्व जानकारी भएको प्रमाणित हुने अवस्थाले नै तत्काल मात्र भए पनि यी प्रतिवादीमा मार्नेसम्मको मनसाय तत्त्वको सिर्जना भएको स्वतः प्रमाणित हुन जाने । (प्रकरण नं. ५) वारदात सांयोगिकरूपमा वा होस पुर्याई कुनै अरू कार्य गर्दा अकस्मात लाग्न गई भएको भए के काम सावधानीपूर्वक गर्दा कसरी अर्कोलाई लाग्न गएको हो भन्ने स्पष्ट देखिनुपर्ने हुन्छ । त्यस्तो कुनै अवस्था नदेखिई मृतकलाई रिसको आवेशमा टाउकैमा दुई चोटी हिर्काएको देखिएबाट भवितव्य ज्यानको कसुर मान्न सकिँदैन । त्यस्तै कुनै पनि कसुरजन्य कार्य प्रमाणित हुन सो कार्यको उद्देश्य के रहेको थियो भन्दा पनि कुनै कार्यको परिणाम के भयो अर्थात् कार्यबाट कसुरजन्य कार्य हुन गयो वा गएन भन्ने महत्त्वपूर्ण हुन जाने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता विश्वप्रकाश भण्डारी प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विश्वमङ्गल आत्रेय पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मुख्य न्या. डा.आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई फैसला न्या. देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः- दाङ जिल्ला, तुलसीपुर नगरपालिका वडा नं.५ स्थित राप्ती अञ्चल अस्पतालको कम्पाउन्डमा रहेको दक्षिण मोहडा भएको एक तले टिनको छाना भएको २ कोठाको पोस्टमार्टम गृहमा रहेको स्ट्रेचरमाथि उत्तर खुट्टा, दक्षिण टाउको गरी मृतक शोभाखर नेपाली (सार्की) को मृत लास रहेको र लासको टाउको निधारमाथि धारिलो हतियारले काटेको घाउ रहेको । उक्त घाउचोटमा टाँका लगाएको, पछाडि भागमा घाउचोट रहेको, मृतकको नाकबाट फिँज रगत निस्किएको, मुखबाट निलो फिँज निस्किएको, खुट्टा हात तन्किएको अवस्थामा रहेको, मृतकको शरीरको पछाडि भागमा निलो भएको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का । मिति २०७०/०५/२२ गते अं.१९:०० बजेको समयमा मेरो भाइ वर्ष ४० को शोभाखर भन्ने कर्णबहादुर सार्कीलाई आफ्नै सहोदर छोरा वर्ष १८ को गौरव भन्ने गोवर्धन सार्कीले दाउरोले टाउकोमा हानी सख्त घाइते बनाई उपचारको क्रममा मिति २०७०/०५/२४ गते राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा मृत्यु भएकोले कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने