निर्णय नं. ९७५५ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७५५ - अंश चलन भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०७/११ ४३०६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७३।०७।११ ०७०-NF-००१६ मुद्दाः अंश चलन निवेदक / वादी : जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने खगेन्द्रध्वज जोशी विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ बस्ने चण्डिमानध्वज जोशीको मु.स. गर्ने अनिलध्वज जोशीसमेत अंशबापत चल र अचल सम्पत्ति पनि लिने पुनः अंश नभएको भन्ने जिकिर कानूनसम्मत मान्न मिल्दैन । लिखतमा उल्लेख व्यहोराको व्याख्या गर्दा कुनै शब्द वा वाक्यको मात्र आधारमा अर्थ निकाल्न मिल्दैन । समुच्चा लिखतमा उल्लेख व्यहोराको समष्टिगत अध्ययनबाट सोको निष्कर्ष निकाल्नु पर्छ र समुच्चा लिखतको अध्ययनबाट मानोसम्म छुट्टिएको अंश लिई नसकेको भन्ने निष्कर्ष निकाल्न नसकिने । (प्रकरण नं. ८) प्रत्यर्थीले मिलापत्र गरी छोरालाई दिएको घर जग्गामा यी वादी पुनरावेदकको नाममा धारा बत्ती जडान भएको छ, मर्मत संहार आफैँ गर्दै आएको छु भनी लिएको जिकिर ठोस एवं वस्तुनिष्ठ प्रमाणको अभावमा पुष्टि हुन सक्तैन । यसरी उक्त लिखतमा अंशबापत भनी लिखतको प्रयोजन खुलेको र छोडपत्र गरी दिनुस् भनी माग गरेको तथा छोडपत्र गरिदियौं भन्ने शब्द एवं वाक्य परेको स्थितिमा पुनरावेदक वादीले मिति २०३०।७।२० को र.नं. १५४९ को उक्त लिखतबाट आफूले पाउने अंशबापत जग्गा बुझिलिएको तथ्य स्थापित हुन आउने । (प्रकरण नं. १०) निवेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू जगतबहादुर कार्की, जयनारायण पौडेल, अर्जुन खनाल विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता राजु बस्नेत, अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता केदार ढकाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री बाबुराजा कार्की पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास फैसला न्या. दीपककुमार कार्की : यस अदालतको संयुक्त इजलासको मिति २०६८/३/२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११ (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । पिता हरिमान र आमा पूर्ण देवीबाट हामी ६ भाइ छोराहरूको जायजन्म भएको हो । जसमा जेठा विपक्षी चण्डीमान, माइला जनक, साइला दामोदर, काइला खगेन्द्र, ठाइला योगेन्द्र र कान्छा गोपुजेन्द्र हौं । माइला जनक र साइला दामोदरको अविवाहित अवस्थामा र माता पिताको समेत परलोक भइसकेको छ । अब अंशियारहरूमा ४ जना मात्र छौं । आजसम्म हामीहरूको अंशबन्डा भएको छैन । म फिरादी मिति २०३०।७।२० मा र.नं.१५४९ बाट मानो छुट्टिई भिन्न बसेको छु । विपक्षी दाजु चण्डीमानलाई अब सधैँ अंशबन्डा नगरी बस्नु उचित हुँदैन अंशबन्डा गरौं भन्दा मेरो नामको जग्गा दिन्न भनी जवाफ दिई अंश दिन इन्कार गरेकोले मिति २०३०।७।२० लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई ४ भागको १ भाग अंश छुट्टयाई चलनसमेत चलाई पाउँ साथै साबिक कलंकी गा.वि.स. वडा नं. ६ कि.नं. २८ हाल काठ