निर्णय नं. ९७६९ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७६९ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०५/२६ ३७०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७३।०५।२६ ०६६-WO-०५६६ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : कञ्चनपुर जिल्ला, पिपलाडी गा.वि.स. वडा नं.३ बस्ने राजेन्द्र विष्ट विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कुनै पनि विवाद निरूपण गर्दा आरोपित व्यक्तिलाई दोषी करार गर्नुभन्दा पहिला निज विरूद्ध लागेको आरोप सम्बन्धमा खण्डन गर्न पाउने निजको नैसर्गिक अधिकार हो । त्यस्तो अधिकारको सुनिश्चित्ता प्रदान गर्ने न्यायको मान्य सिद्धान्तको रूपमा प्राकृतिक न्यायको सिद्धान्तको पालना गर्नुपर्ने विषयमा विवाद गर्न सकिँदैन । निवेदकलाई नोकरीबाट हटाउने जस्तो गम्भिर विषयमा निर्णय लिनुभन्दा पहिला निजलाई सफाइ पेस गर्ने मौका प्रदान नगरेमा न्यायमा जनताको पहुँच कायम हुन नसक्ने र तजबिजी अधिकारको दुरूपयोग बढ्न गई कानूनको शासन कमजोर हुन पुग्ने हुन्छ । कानूनले नै अपवादात्मक अवस्थाको व्यवस्था गरेकोमा बाहेक सामान्यरूपमा सफाइको मौका दिनुपर्ने । सफाइको मौका प्रदान गर्न मनासिब नभएमा सफाइको मौका नदिए पनि हुने भनी गरेको व्यवस्थाले सफाइको मौकाको प्राकृतिक न्यायको सिद्धान्तलाई नै प्रतिस्थापित गरेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ४) सेवा संवेदनशील हुने तर सेवा दिने व्यक्तिको गम्भिर अवस्था असंवेदनशील हुने कुरा मान्न मिल्ने देखिँदैन । एकातिर सुनुवाइबाट वञ्चित गर्नु र अर्कोतिर कारवाहीउपर पुनरावेदन दिने व्यक्तिको अधिकार भएकोमा पुनरावेदनको दौरानमा निवेदकबाट पेस गरिएका प्रमाणको कुनै विवेचना नगर्नु उचित कानूनी कार्यविधि (due process) को विपरीत देखिन्छ । निर्णय पर्चामा उल्लिखित आधारहरू मनासिब छन् वा छैन निर्णयकर्ताले न्यायिक विवेकको साथमा हेर्नुपर्ने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ताहरू खम्मबहादुर खाती र लालबहादुर बस्नेत विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अवलम्बित नजिर : ने.का.प. २०६५, नि.नं.७९६४ सम्बद्ध कानून : सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २१(ग) सशस्त्र प्रहरी नियमावली, २०६० आदेश न्या. सपना प्रधान मल्ल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ:- म निवेदक सशस्त्र प्रहरी ऐन, २०५८ र सशस्त्र प्रहरी नियमावली, २०६० को अधीनमा रही आफ्नो कार्य इमान्दारीका साथ निर्वाह गर्दै आएको प्रहरी कर्मचारी हुँ । मेरो श्रीमती सिकिस्त बिरामी भएको भनी मिति २०६४/०९/२२ मा घरबाट फोन आएकोले मैले सो व्यहोरा कार्यालयका हवल्दार मेजर श्री रविन्द्र कँडेललाई जानकारी गराई सोही दिन घर गएको थिएँ । श्रीमतीलाई उपचार गराउन मिति २०६४/०९/२४ मा महाकाली अञ्चल अस्पतालमा भर्ना गराई उपचार गराउने क्रममा अस्पतालमा नै मिति २०६४/१०/१२ गते श्रीमती माया विष्टको निधन भयो । श्रीमतीको निधन भएकोले काज किरिया गर्नुपरेकोले कार्यालयमा उपस्थित हुन नसक्ने भई सोको जानकारी श्री सशस्त्र प्रहरी बल, वैद्यनाथ वाहिनी, धनगढी अत्तरियामा कार्यरत एस.एस.पी. श्री जितबहादुर पुनलाई खबर गरेको थिएँ । श्रीमतीको काज किरिया सकी धनगढीबाट काठमाडौं आई मिति २०६४/१०/२५ मा कार्यालयमा हाजिर हुन जाँदा मलाई सफाइ