निर्णय नं. ९७०८ - सम्पत्ति शुद्धीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०८ - सम्पत्ति शुद्धीकरण भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०४/२७ ७२६३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।०४।२७ ०७२-CF-०००२ मुद्दा : सम्पत्ति शुद्धीकरण पुनरावेदक / प्रतिवादी : कमलावारी, गौढटोल जयनगर जिल्ला, मधुवनी बिहार भारत, घर भई कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका माधवकुमार भगत विरूद्ध प्रत्यर्थी वादी : अनुसन्धान अधिकृत क्षेत्रबहादुर भण्डारीसमेतको प्रतिवेदनले नेपाल सरकार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २८ को कानूनी व्यवस्थाअनुसार आफूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोत उक्त सम्पत्ति बाहकले देखाउन सक्नु पर्दछ । केवल प्रतिवादीहरूको साथबाट बरामद भएको रकम मेरो हो भनी तेस्रो व्यक्तिले भन्दैमा सम्पत्तिको कानूनी स्रोत खुलेको अर्थात्‌ वैध सम्पत्ति हो भनी प्रमाणित भएको मान्न सकिने अवस्था हुँदैन । त्यस्तो सम्पत्ति वैध हुनका लागि आर्जन वा प्राप्त गरेको कानूनी स्रोत स्पष्टरूपमा खुलाउन सक्नुपर्ने । (प्रकरण नं. ८) सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ मा भएको कानूनी व्यवस्थाअनुसार बरामद भएको अवैध रूपैयाँ सम्पत्ति शुद्धीकरण गर्ने उदेश्य नराखी आफूले व्यापार व्यवसाय वा अन्य कुनै व्यक्ति वा स्रोतबाट प्राप्त गरेको हुँ भन्ने पक्षले वस्तुनिष्ठ प्रमाणबाट सो कुरा प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ९) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्य अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्ने रहेको भन्ने यसको प्रस्तावनामा उल्लेख छ । अपहरण, भ्रष्टाचार, आतंकवाद तथा राजश्वको छली आदि गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति भूमिगतरूपमा पुनः त्यस्तै गैरकानूनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चली रहने हुँदा पुनः त्यस्तो गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस्, आपराधिक कार्य रोकियोस् भनी निवारणात्मक व्यवस्था (Preventive Measures) को प्रयोजनार्थ सम्पत्ति शुद्धीकरण ऐन आएको हो । सम्पत्ति शुद्धीकरण आफैँमा सम्बद्ध कसुर (Predicate Offence) होइन अपितु मूल कसुरको सह-उत्पादन (By-Product) को रूपमा सह अपराध (Secondary Offence) हो । मूल कसुरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन शुद्धीकरण गरिएको कसुर यस ऐनअन्तर्गत पर्दछ । यो एउटा बहुआयामिक वित्तीय अपराध (Multi-Dimensional Financial Crime) पनि हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्‌यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन । त्यसैले उक्त ऐनको दफा २८ ले कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ति अस्वाभाविक देखिएमा र उसले आर्जन गरेको स्रोत देखाउन नसके सम्पत्ति शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको हो । अस्वाभाविक सम्पत्ति देखियो भने त्यसको स्रोत जायज थियो भनी प्रमाणित गर्नुपर्ने प्रमाणको भार प्रतिवादीमा राखिएको छ । प्रतिवादीले स्रोत देखाउन सकेन भने उसले सम्पत्ति शुद्धीकरणको अपराध गरेको हो भनी मान्नु पर्ने हुन्छ । त्यस्तो आयस्रोत लुकेको सम्पत्ति बरामद हुनु नै कसुरको लागि पर्याप्त हुने । (प्रकरण नं. ११) कुनै विशेष ऐन लागू भएपश्चात्‌ सो ऐन आउनुपूर्व नेपाल राजपत्रमा प्रकाशित सूचनाले सो विशेष ऐनको व्यवस्थालाई सीमित गर्