निर्णय नं. ९७१५ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७१५ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०३/२९ १०५४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।०३।२९ ०७०-CI-०४४६ मुद्दा: अंश चलन पुनरावेदक प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ बस्ने दिपक सिंह विरूद्ध विपक्षी वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ बस्ने दिनेश सिंह एक पटक यी पुनरावेदक प्रतिवादीले विवादित कित्ता जग्गाहरू प्रत्यर्थी वादी निजको भाइ दिनेश सिंहको स्वआर्जनको हो भनी लिखितरूपमा नै स्वीकारी बसेको अवस्थामा पछि मुद्दा पर्दा आफ्नो प्रतिकुल हुने देखेपछि सो होइन भन्न मिल्ने हुँदैन । यसो भन्नमा यी पुनरावेदक विबन्धित हुने । (प्रकरण नं. ३) कुनै सम्पत्ति स्वआर्जन तथा सगोलको के हो भनी छुट्याउने विषय कानूनी प्रश्न समाहित विषय नभई तथ्यसम्बन्धी प्रश्न मात्र हो । कुनै कुरा के र कस्तो हो भनी निर्क्यौल गर्ने विषयमा तथ्यसम्बन्धी प्रश्न नै निहित रहेको मानिन्छ । सो तथ्यसम्बन्धी विषय निराकरण भइसकेपछि सोको कानूनी हैसियत तथा अस्तित्व के हुने भन्ने विषय सम्बन्धमा कानूनले केही सर्त र अवस्था तोकेको भएमा वा सो सम्बन्धमा कानूनको व्याख्या गर्नुपर्ने अवस्था भएमा मात्र त्यसमा कानूनी प्रश्नको सन्निहितता रहेको मानिने । विवादित जग्गाहरू यसरी प्राप्त भएको हो भन्ने तथ्यको निरूपण भएपछि त्यसरी प्राप्त सम्पत्तिको अस्तित्व के हुन्छ तथा सो सम्पत्तिमा कसको हक रहन्छ भन्ने निर्क्यौल गर्ने विषय मात्र कानूनी प्रश्न समाहित विषय हुन्छ । यसमा एक पटक स्वआर्जन भनी स्वीकारेकोमा पछि आएर होइन भनेको नितान्त तथ्यसम्बन्धी विषयमा सुरू तथा पुनरावेदन अदालतले बिबन्धन आकर्षित गरेको देखिएबाट पुनरावेदक प्रतिवादीको कानूनी प्रश्न भएकोले विवन्धन लागू हुने होइन भनी लिएको जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ४) अंश बन्डाको महलमा भएको कानूनी व्यवस्थाहरू हेर्दा आफ्नो अंश हक जतिको सम्पत्ति अंश बन्डा नहुँदै वा जस्तोसुकै अवस्थामा पनि आफू खुसी गर्न पाउने र पछि अंशबन्डा गर्दा त्यसरी दिएको सम्पत्तिको बन्डा गर्नु नपर्ने स्पस्ट हुन्छ । साथै अरूको भाग लाग्ने सम्पत्ति बकसपत्र वा लिनुदिनु गरेमा मात्र सगोलका अरू अंशियारको मन्जुरी लिनुपर्नेमा नलिएमा बदर हुने भएपनि आफ्नो अंश हक लाग्ने सम्पत्ति आफूखुस लिनु दिनु गर्दा अन्य अंशियारलाई साक्षी राख्नुपर्ने वा मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहे भएको समेत नपाइने । अंश हक एक जन्म सिद्ध तथा नैसर्गिक हक भएकाले सगोलको सम्पत्तिमा सगोलका सबैको जुनसुकै समयमा पनि अंश हक निहित रहेको नै हुन्छ । यी वादी प्रतिवादीको आमा जिउँदै रहेको समयमा सगोलको सम्पत्तिमा निजको पनि अंश हक निहित रहने र आफ्नो अंश हकजति मुलुकी ऐन, अंशबन्डाको महलमा रहेको कानूनी व्यवस्थाका आधारमा आफूखुसी गर्न पाउने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादीको तर्फबाट : विपक्षी वादीको तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६६, अंक ८, पृ.१३८८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा.जि.न्या. श्री खडानन्द तिवारी पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री सत्यराज गुरूङ मा.न्या. श्री रामेश्वरनाथ अमात्य फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ ।