निर्णय नं. ९७८५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७८५ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०३/३१ ६६०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा आदेश मिति : २०७३।०३।३१ ०६६-WO-०३५५ मुद्दा : उत्प्रेषण रिट निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३० असन बालकुमारी बस्ने राजेन्द्रकुमार जोशी विरूद्ध प्रत्यर्थी विपक्षी : कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंसमेत कुनै पनि संगठन सुव्यवस्थितरूपमा सञ्चालन हुनका लागि त्यस संस्थासँग आवद्ध पदाधिकारीहरूमा अनुशासन, कर्तव्यपरायणता र जवाफदेहिता आवश्यक हुन्छ । आफ्नो सेवा सर्तसम्बन्धी ऐन, नियम, विनियम, आचार संहिता जस्ता कुराहरूको पूर्ण परिपालना गरी उच्च नैतिक चरित्र अनुशरण गर्नु वाञ्छनीय हुन्छ । सार्वजनिक जीवनमा कानून परायणता सदैव अपेक्षित रहन्छ । यस प्रकारका मूल्य मान्यताबाट निर्देशित हुन सकेन भने कुनै पनि सार्वजनिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो घोषित उद्देश्य पूरा गर्न सक्तैन । यिनै कुराहरूलाई सुनिश्चित गर्न र सार्वजनिक सेवा प्रदान गर्ने कार्यलाई अनवरतरूपमा तथा स्तरीय तवरबाट सञ्चालन गर्न संस्थामा आवद्ध कर्मचारीहरूको सेवाका सर्तहरू व्यवस्थित गरिन्छन् । सेवाका सर्तहरूको पालना गर्नु सम्बन्धित सबै कर्मचारीहरूको कर्तव्य बन्दछ । निर्धारित सेवाका सर्तहरूको उल्लङ्घन भएको अवस्थामा ऐन, नियम वा विनियमद्वारा निर्धारित सजाय गर्नु वाञ्छनीय हुन जाने । (प्रकरण नं. ६) वस्तुतः बिदा अधिकारको कुरा होइन, यो केवल सुविधाको कुरा मात्र हो । संस्था सुव्यवस्थितरूपमा सञ्चालन हुने स्थिति सुनिश्चित गरी आवश्यकता र उपर्युक्तताको आधारमा मनासिब तजबिजको प्रयोग गरी बिदा प्रदान गरिन्छ । बिदा माग गरेको छ भन्ने आधारमा नै स्वतः बिदा स्वीकृत हुने विषय नहुने । (प्रकरण नं. ७) बर्खास्त गर्ने निर्णय गर्दा सुनुवाइको अवसर प्रदान गर्नेलगायतका समुचित विधिसम्मत प्रक्रिया अपनाइएको देखिन्छ । यस अवस्थामा विभागीय सजाय दिन सक्ने अधिकारीले विनियमावलीबमोजिमको अख्तियार प्रयोग गरी विधिसम्मतरूपमा निर्णय गरेको कुरालाई अन्यथा ठान्नु मनासिब नहुने । (प्रकरण नं. ८) रिट निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने प्रत्यर्थी विपक्षीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र विद्वान् अधिवक्ता निर्मलप्रसाद उपाध्याय अवलम्बित नजिर : सम्बद्ध कानून : कृषि विकास बैंक लिमिटेड, कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम ७(घ) आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः म निवेदक मिति २०४२।११।५ देखि कृषि विकास बैंकको शाखा अधिकृत पदमा प्रवेश गरी शाखा प्रमुख पदमा कामकाज गर्दै आएको थिएँ । भैरहवामा कार्यरत रहेको अवस्थामा अचानक बिरामी परेकोले मिति २०६४।१०।४ मा बिदा लिई काठमाडौंको सुविधा सम्पन्न वीर अस्पतालमा औषधि उपचार गरी बिदाको जानकारी दिन सक्ने भएपछि थप बिदाको लागि मिति २०६४।१२।६ मा जानकारी दिई औषधि उपचार गरी बसेको थिएँ । मिति २०६५।२।१ को गोरखापत्रको सूचनामा स्पष्टीकरणसहित हाजिर हुन आउने सूचना प्रकाशित हुनुभन्दा अगाडि मिति २०६५।१।२९ मा सरूवा भएको कार्यालय क्षेत्रीय कार्यालय, भैरहवामा हाजिर भई कामकाज गरेको अवस्थामा स्पष्टीकरण सोधिएको थियो । बिरामीको का