निर्णय नं. ९७२४ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७२४ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/१०/०६ १०४१२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे फैसला मिति : २०७३।१०।०६ ०६८-NF-०००९ मुद्दाः अंश चलन निवेदक वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ शान्तिनगर घर भई हाल ऐ.ऐ. वडा नं.१३ कालिमाटी बस्ने नाबालक रित्सु मिश्रको हकमा र आफ्नो हकमा समेत लक्ष्मीकुमारी मिश्र (श्रेष्ठ) विरूद्ध विपक्षी प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ शान्तिनगर बस्ने मखमली मिश्रसमेत मतदाता परिचयपत्र, मतदाता नामावलीमा भएको पारिवारिक विवरण र सवारी चालक अनुमतिपत्रहरूबाट असर्फीलाल र रविशंकरबीचको नाता सम्बन्ध रहेको देखिएको र एकआपसमा आफूहरूलाई बाबुछोराको रूपमा लामो समयदेखि आचरण र व्यवहारबाट स्वीकार गरेको देखिन्छ । ती कागजातहरू सरकारी कार्यालयबाट जारी गरिएका वैधानिक कागजातहरू हुन् । यद्यपि तिनीहरूको प्रयोजन अलगअलग भए पनि ती कागजपत्रमा उल्लेख भएको नाता सम्बन्ध देखिने विवरणहरू झुट्टा हुन् भन्ने आधार देखिन सकेको छैन। पेस भएका ती सबै कागजपत्रबाट प्रतिवादी रविशंकर मिश्र र असर्फीलाल भन्ने केदार मिश्र बाबु छोरा भनी उल्लेख हुनु संयोग मात्र हुन नसक्ने । (प्रकरण नं. ४) प्रमाण ऐन, २०३१ को दफा ३४ को उपदफा १ मा कुनै व्यक्तिले लेखेर, बचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बीचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेको छ । कसैले आफूसँग सम्बन्धित कुनै तथ्यलाई यस्तो हो, छ वा थियो भनी औपचारिकरूपमा कुनै अड्डा, अदालत वा सरकारी कार्यालयमा अभिलेख रहने गरी एकपटक व्यक्त गरी सोबाट फाइदा लिइसकेपछि आफूलाई नोक्सान वा बेफाइदा हुन्छ भन्ने मात्र आधारमा त्यस्तो व्यक्तिले पछि आफूले एकपटक व्यक्त गरिसकेको तथ्यबाट पछि हट्न नपाओस् वा त्यस्तो तथ्यलाई अस्वीकार गर्न नसकोस् र तथ्यमा स्थिरता कायम हुन सकोस् भनी प्रमाण कानूनमा विवन्धनको सिद्धान्त (Doctrine of estoppel) विकास भएको हो । यही सिद्धान्तलाई उक्त कानूनी व्यवस्थाले पनि स्वीकार गरेको मानिने । (प्रकरण नं. ७) DNA परीक्षण सक्षम विशेषज्ञले गरी वास्तविक व्यक्तिको रगतको नमूना संकलन गरी कुनै प्रकारको मिसावट (Contamination) नभएको रगतको नमूना निकालिएदेखि प्रयोगशालासम्म शंकारहित तवरले Chain of custody सुनिश्चित गरी वा प्राप्त गरी कुनै त्रुटि नगरी परीक्षण र निष्कर्ष निकालेमा यस्तो परीक्षणको निष्कर्ष विश्वसनीय र स्वीकार्य हुनेमा कुनै सन्देह गर्ने ठाउँ रहँदैन र यस्तो परीक्षणलाई अदालतले पनि प्रमाणको रूपमा ग्रहण गर्नु नै पर्ने । (प्रकरण नं. ९) DNA परीक्षणको वैज्ञानिक पद्धतिले विभिन्न मुद्दाको निराकरणको लागि ठूलो सहयोग गरेको अवस्था पनि छ र यो पद्धतिको उपयोग अदालतले गर्नु पनि पर्दछ तर DNA परीक्षणको आदेश गर्नुपूर्व अदालत अत्यन्त संवेदनशील हुनुपर्दछ । यदि मिसिल संलग्न अन्य ग्राह्य प्रमाणहरूले विवादित नाताको सन्देहरहित निष्कर्षमा पुग्न सकिने अवस्था छ वा प्रमाणमा पेस भएका अन्य मिसिलबाट प्रस्तुत मुद्दाको नातासम्बन्धी विवाद निराकरण भई अन्तिम भएर बसेको देखिन्छ वा नातामा विवाद उठाउने पक्ष