निर्णय नं. ९७२७ - सार्वजनिक बाटो खुलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७२७ - सार्वजनिक बाटो खुलाई पाऊँ भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/११/३० ७६२३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।११।३० ०७२-CI-०६९८ मुद्दा : सार्वजनिक बाटो खुलाई पाऊँ पुनरावेदक वादी : जनकपुर अञ्चल, रामेछाप जिल्ला राकाथुम गाउँ विकास समिति वडा नं. ४ हाल बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ पर्यटक मार्ग बस्ने शंखर श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी प्रतिवादी : बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्ग स्थित नेपाल औद्योगिक विकास निगमसमेत जग्गाधनीको हक टुटाई नलिएको कारणले त्यस्तो संरचना र सोसँग सम्बद्ध निकास नै अवरोध गर्न मुलुकी ऐन, घर बनाउनेको ३ नं. बमोजिम कानूनसम्मत एवं न्यायोचित हुने देखिँदैन । एकपटक बाटोको रूपमा प्रयोग गर्न नरोकी प्रयोग गर्न दिई स्रेस्ता पूर्जा आदिमासमेत बाटो जनाई सकेको अवस्थामा त्यसको विपरीत बाटो कायम नराख्न पनि नमिल्ने हुनाले वादीहरूले जुनरूपमा भोग गरिरहेको बाटो हो सोहीरूपले बाटो प्रयोग गर्न पाउने । (प्रकरण नं. ८) पुनरावेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल तथा लोकभक्त राणा प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता निरन्जन आचार्य अवलम्बित नजिर : नेकाप २०६९, अंक ११, नि.नं.८९२०, पृ.१६९२ सम्बद्ध कानून : सुरू फैसला गर्ने न्यायाधीश: मा.जिल्ला न्यायाधीश श्री नागेन्द्रलाल कर्ण पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विदुरविक्रम थापा माननीय न्यायाधीश श्री चण्डीराज ढकाल फैसला न्या. जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, पाटनको मिति २०७१।१०।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को देहाय (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्ग स्थित कि.नं. ११४६ र ऐ. को कि.नं. ५४१ को दुवै कित्ता जग्गामा पश्चिमबाट पूर्व जाने लम्बाइ ३११ फिट ६ इन्च र चौडाइ ३१ फिट ९ इन्चको बाटो विपक्षीसँगको सर्त तथा सम्झौताबमोजिम विपक्षीलगायत हामी फिरादीहरू तथा होटल याक एण्ड यति र अन्य कार्यालय साथै धेरै उद्योगी व्यवसायीसमेतले विगत ३० वर्षदेखि भोग चलन र कब्जामा लिई आजसम्म कोही कसैको कुनै पनि प्रकारको खर खिचोला नभई स्वतन्त्रपूर्वक उपभोग गर्दै आएका थियौँ । विपक्षीसँग होटल याक एण्ड यतिको प्रथम पटकको सम्झौता अवधि मिति २०५६।१२ मसान्तमा समाप्त भई मिति २०५७।१।१ देखि पुनः २० वर्षको लागि उक्त बाटो प्रयोग गर्न पाउने सर्त सहमति भई उक्त बाटो पूर्ववत्रूपमा हामी फिरादीले निर्वादरूपमा प्रयोग गर्दै आइरहेकामा मिति २०६२।९।२२ मा बिना कुनै सूचना विपक्षीले पूर्व सर्तविपरीत उक्त बाटो एकाएक बन्द गर्ने प्रयास गर्नुभएछ । सो कुरा थाहा पाई हामीबीच भएका सर्त सम्झौताका कुरा गर्दा सर्त भङ्ग भयो तपाइँले जानेको गर्नुहोस् भन्ने जवाफ पाएकाले मुलुकी ऐन, घर बनाउनेको ३ नं. तथा जग्गा आवाद गर्नेको ४ नं. का आधारमा प्रस्तुत फिराद गरेका छौं । उक्त जग्गा साबिकदेखि नै बाटोको रूपमा प्रयोग भइरहेको, जग्गाधनी प्रमाण पूर्जा फिल्डबुक उतारमा समेत बाटो नै जनिई राखेको छ । सोही बाटो देखाई हामीहरूको घर निर्माण गर्दा काठमाडौं नग