निर्णय नं. ९७२८ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७२८ - कर्तव्य ज्यान । भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०२/०४ ३१२३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७३।०२।०४ ०६८-CR-१४०० मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादी : रूकुम जिल्ला, घेत्मा गाउँ विकास समिति वडा नं. १ घर भई हाल कारागार कार्यालय तुलसीपुर दाङमा थुनामा रहेका भद्रे कामी विरूद्ध प्रत्यर्थी वादी : प्रजित मल्लको जाहेरीले नेपाल सरकार फौजदारी मुद्दामा मनसाय तत्त्वलाई विशेष हेरिनुपर्छ । मनसायसहित गरेको आपराधिक कार्य र मनसाय बिना गरेको आपराधिक कार्यलाई छुट्टाछुट्टैरूपमा हेर्नुपर्ने हुन्छ । फौजदारी कानूनमा मनसायसहित गरेको आपराधिक कार्यलाई जघन्य अपराधको रूपमा हेरिन्छ र हेरिनु पनि पर्छ । कसैको हत्या गर्ने पूर्व योजना बनाई हत्या गरेपछि अपराध गरेमा साबिती बयान दिएकै आधारमा अदालतलाई सहयोग गरेको हुँदा सजायमा छुट पाउनुपर्छ भनी जिकिर लिएकै आधारमा अदालतले सजायबाट छुट दिंदा समाजमा पुनः आपराधिक गतिविधिले प्रश्रय पाउन सक्नेतर्फ समेत दृष्टि पुर्याउनु पर्ने हुन जाने । फौजदारी कानूनले अनुसन्धान तथा अदालतको काम कारवाहीमा सहयोग गरेको अवस्थामा अभियुक्तले सजायमा छुट पाउन सक्छ भनी राखेको प्रावधानको उद्देश्य योजनाबद्धरूपमा गरेको मानवता विरूद्धको जघन्य अपराधका दोषीलाई समेत सजायमा छुट दिनुपर्छ भन्ने नभई पूर्व रिसइवी र योजना नबनाई कसैको हत्या हुन गए वा कुनै गैरकानूनी कार्य हुन गएको अवस्थाका अभियुक्तलाई सजायमा केही छुट दिने भन्नेसम्म हुने । (प्रकरण नं. ४) पुनरावेदक प्रतवादीको तर्फबाट : प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.जिल्ला न्यायाधीश श्री अर्जुन अधिकारी पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी माननीय न्यायाधीश मिहिरकुमार ठाकुर फैसला स.का.मु.प्र.न्या. सुशीला कार्की : पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६८।९।२६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : घेत्मा गाउँ विकास समिति वडा नं. ८ बाँके ज्युलामा पसल गरी बस्ने मेरो भाइ जयबहादुर मल्लले पसलको सामान लिन जाने भनी प्रतिवादी भद्रे कामीसँग २/४ दिन पहिला सल्लाह गरी मिति २०६६।४।२१ गते दिउँसो नगद रू.१०,००,०००/- (दश लाख रूपैयाँ) र ७ तोला सुनका विभिन्न गरगहना लिई छोरा दिनेश मल्ललाई कक्षा ११ मा सुर्खेतमा भर्ना गर्ने, भारतमा उपचारार्थ रहेका भिनाजुलाई पैसा पठाउने र फर्कंदा नेपालगञ्जबाट पसलको सामान ल्याउने भनी घरबाट गएका, प्रतिवादी भद्रे कामीसँगको पूर्व सल्लाह अनुसार प्रतिवादी भद्रे कामी पनि सो दिन बिहानै घरबाट गई चौरजहारीमा भाइ जयबहादुर मल्लसँग भेट भई शशीराम कामीको डाँडागाउँले होटलमा सँगै खाना खाई सुती राति २.०० बजेको समयमा त्यहाँबाट सुर्खेत जान भनी हिँडेकामा निजहरू विजयश्वरी गाउँ विकास समितिको जुम्रामारे भन्ने स्थानमा पुगेपछि प्रतिवादी भद्रे कामीले जयबहादुर मल्ललाई टाउकामा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारी जयबहादुरको साथमा भएको नगद र सुनका गरगहनासमेत लिई गएको भन्नेसमेत व्यहोराको प्रजित मल्लको जाहेरी । मृतक जयबहादुर मल्लको टाउकोमा धारिलो हतियारले काटेको विभिन्न नाप साइजका घाउ चोटहरू रहेको र मृतको मृत्युको कारण Injury in the head भन्ने उल्ल