निर्णय नं. ९८०१ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८०१ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/१०/१९ ६८३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।१०।१९ ०६८-CR-१०४२ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला ललितपुर बडीखेल गा.वि.स. वडा नं. ४ घर भई हाल नख्खु कारागारमा थुनामा रहेका सुमन पहरी विरूद्ध प्रत्यर्थी / वादी : लिलाबहादुर नगरकोटीको जाहेरीले नेपाल सरकार जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुने । एक अवोध ४ वर्षकी नाबालिका जसलाई यौन अंग के हो ? करणी के हो ? योनिको भागमा खेलाउँदा वा पीडितको योनिमा लिङ्ग छिराई करणी गर्न लाग्दा आफूलाई के गरेको हो भन्ने कुराको बारेमा थाहा हुनसक्ने अवस्था हुँदैन । त्यस्तो नाबालिकाले बालिक प्रतिवादीले आफ्नो इच्छाविपरीत करणी गर्न लागेको र आफ्नो सतित्व रक्षाको लागि बचाउका लागि हरसम्भव प्रयत्न गर्ने वा विरोध गर्ने भन्ने प्रश्न नै आउँदैन । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता दानबहादुर बुढा, विद्वान् अधिवक्ता तिलबहादुर भट्टराई र विद्वान् अधिवक्ता निर्मला शाक्य प्रत्यर्थी / वादीका तर्फबाट : उपन्यायाधिवक्ता दशरथ पंगेनी अवलम्बित नजिर : नेकाप २०६१, नि.नं.७४१४, पृ.९१९ नेकाप २०७३, अङ्क १, नि.नं.९५१९ सम्बद्ध कानून : सुरू फैसला गर्ने अदालत : माननीय न्यायाधीश श्री भीमकुमार ओझा पुनरावेदन तहमा फैसाल गर्नेः माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा माननीय न्यायाधीश श्री यज्ञ प्रसाद बस्याल फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रअन्तर्गत भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- सम्मानित सर्वोच्च अदालतको पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दामा पीडितको वास्तविक नाम परिवर्तन गरी रोसनी कायम गरिएको छ । मिति २०६७/४/२८ बेलुका पखको समयमा आफ्नै घरआँगनमा खेली रहेको मेरो छोरी रोसनीलाई ऐ. बस्ने सुमन पहरीले ललाई फकाई आफ्नो घरको कोठामा लगी जबरजस्ती करणी उद्योग गर्न खोजेको र छोरी रोइरहेको अवस्थामा फेला परेको हुँदा निज सुमन पहरीलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको लिलबहादुर नगरकोटीको जाहेरी दरखास्त । ललितपुर जिल्ला बडिखेल गा.वि.स. वडा नं. ४ स्थित बसन्त पहरीको दुईतले पक्की घरको भुइँतलाको कोठामा प्रतिवादी सुमन पहरीले रोसनीलाई जबरजस्ती करणी उद्योग गर्न खोजेको भन्ने घटनास्थल प्रकृति विवरण कागज । पीडित रोसनीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने सम्बन्धमा निज पीडितको शरीरको कहीँकतै कोतरिएको घाउ चोट नभएको भन्ने स्वास्थ्य जाँच परीक्षण प्रतिवेदन । प्रतिवादी सुमन पहरीको स्वास्थ्य परीक्षण गर्दा जबरजस्ती करणी उद्योग गरेको भन्ने सबुद नभएको भन्ने व्यहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन । मिति २०६७/४/२८ का दिन साँझ म आफ्नै घरको आँगनमा बसी चोया काटी रहेको थिएँ । उक्त समयमा रोसनी खेल्दै म भएको स