निर्णय नं. ९८०४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८०४ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७२/११/०४ ४८९० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति :२०७२।११।०४ ०६९-WO-१०१८ विषय: उत्प्रेषण / परमादेश निवेदक : जिल्ला ललितपुर, ल.पु.उ.म.न.पा. वडा नं. ५ मानभवनस्थित आदर्श विद्यामन्दिर उच्च मा.वि.को व्यवस्थापन समितिसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत शिक्षा नियमावली, २०५९ को नियम ११(२क) मा कुनै व्यक्ति वा संस्थाले निजी गुठीको रूपमा विद्यालय सञ्चालन गर्ने गरी कुनै विद्यालयलाई भवन वा जग्गा दान दातव्य दिएमा त्यस्तो विद्यालय निजी गुठीको रूपमा सञ्चालन गर्न सकिने भन्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा उक्त विद्यालयको हाताभित्रको शिलापत्रमा विद्यालय निर्माणमा सहयोग पुर्याउने चन्दादाताको नाम नामाङ्कित हुँदैमा निजी शैक्षिक गुठी नरहेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ७) अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख बमोजिम अनुचित कार्य गर्ने व्यक्तिले गरेको कार्यको औचित्यमा प्रवेश नगरी वा अनुचित कार्य सम्बन्धमा निर्णय नगरी सो दफाबमोजिम दुष्परिणाम सम्बन्धमा निर्णय गर्नसक्ने अवस्था नरहने । (प्रकरण नं ९) विवादमा भ्रष्टाचार वा अनुचित कार्य गरेको भनी कसैलाई भन्न नसकी स्वतन्त्ररूपमा कुनै निकायले कानूनबमोजिम गरेको निर्णय वा काम ठिक वा बेठिक भनी अवशिष्टरूपमा अधिकार ग्रहण गरेको देखिन्छ । तर त्यसरी अधिकारै नभएको विषयमा अधिकार ग्रहण गर्न नमिल्ने । शिक्षा ऐनबमोजिम शैक्षिक प्रशासन गर्ने अधिकारप्राप्त निकायले गरेको काम असम्बन्धित आयोगको निर्णय वा निर्देशन मानी पूर्व निर्णय बदर गर्न पनि मिल्ने हुँदैन । कुनै विद्यालय शिक्षा ऐनको वर्गीकरणबमोजिम कुन सार्वजनिक गुठी, कुन निजी वा कुन कम्पनीअन्तर्गत पर्ने हो भन्ने कुरा विपक्षी आयोगले छुट्याउने विषय होइन । अनुचित कार्य वा भ्रष्टाचार गरेको भन्ने आरोप नै नभएको विषयमा दुष्कृति सच्चाउने भनी परमादेश प्रकृतिको आदेश जारी गर्ने अधिकार विपक्षी आयोगलाई कानूनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. १०) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, चण्डेश्वर श्रेष्ठ तथा विद्वान् अधिवक्ताहरू सतिशकृष्ण खरेल र सुरेन्द्र थापा विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले अवलम्बित नजिर : ने.का.प. २०७० अंक ३, नि.नं. ८९८१ पृष्ठ ४०८ सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ को दफा ३(१) शिक्षा नियमावली, २०५९ को नियम ११(२क) आदेश स.प्र.न्या.कल्याण श्रेष्ठ : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : हामी निवेदकहरू मध्ये १ नं. र २ नं. को निवेदक संस्था २०२२ सालदेखि विद्यालय सञ्चालन गर्न र २०६३।१०।१० मा निजी शैक्षिक गुठीको विधान दर्ता गर्ने सरकारबाट स्वीकृति प्राप्त गर्न उक्त संस्थागत विद्यालय सञ्चालन गरी आएका छौं । हामीहरूका पति एवं पिता स्व. सत्यनारायण बहादुर श्रेष्ठले २०२२ सालदेखि निजी लगानी तथा व्यवस्थापनमा स्थापना गरी सञ्चालन भई आएको आदर्श विद्या मन्दिर उ.मा.वि. शिक्षा ऐन, २०२८ मा भएको सातौं संशोधनपश्चात् निज संस्थापक स्व. सत्यनारायण बहादुर श्रेष्ठका हामी हकवाला सन्ततिहरूले शैक्