निर्णय नं. ९८०७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८०७ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०७/०९ ४६७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति :२०७३।०७।०९ ०७१-WO-०३०० विषयः- उत्प्रेषण / परमादेश निवेदक : जिल्ला बैतडी, सलेना गाउँ विकास समिति वडा नं. ३ बस्ने लोकराज जोशी विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालसमेत कसैको हक अधिकारमा असर पुग्ने अधिकारीले निजउपर निर्णय गर्दा सो निर्णय गर्ने क्षेत्राधिकार छ, छैन भनी प्रारम्भिकरूपमै विचार पुर्याउनु पर्दछ । कानूनले क्षेत्राधिकार नै प्रदान नगरेको विषयमा गरिएको निर्णय कानूनसम्मत र वैधानिक निर्णय हुन सक्दैन । त्यस्तो क्षेत्राधिकारविहीन निर्णयले कानूनी मान्यतासमेत प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ६) उत्प्रेषणको आदेश कुनै न्यायिक र अर्धन्यायिक निकाय तथा सो निकायमा कार्य गर्ने सार्वजनिक पदाधिकारीहरूले क्षेत्राधिकारविहीन (Abseance of Jurisdiction) निर्णय गरेमा, क्षेत्राधिकारको दुरूपयोग गरी (Obuse of Jurisdiction) निर्णय गरिएमा र क्षेत्राधिकार नाघी (Excess of Jurisdiction) निर्णय गरेको देखिएमा जारी हुने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता माधवकुमार बस्नेत विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा नियमावली, २०५९ को नियम १३७, १४०, १४२, १४३ आदेश न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा १०७(२)बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः म निवेदक केदारेश्वर उच्च माध्यमिक विद्यालय, दुर्गास्थान, बैतडीमा प्रा.वि. द्वित्तीय श्रेणीमा दरबन्दी रही जिल्ला शिक्षा कार्यालय, बैतडीअर्न्तगत स्रोत केन्द्र, सलेनामा स्रोत व्यक्तिको रूपमा लामो समयदेखि कार्यरत रहेको थिएँ । यसैबीच नेपाल सरकारको छात्रवृत्ति कोटामा बुढानिलकण्ठ स्कुलमा अध्ययनको निम्ति छनौट भएकी लक्ष्मी लोहार, भूमिराज सामुदायिक प्राथमिक विद्यालय, बैतडीमा अध्ययनरत रहेको निजको भर्ना अभिलेखलगायत कागजातबाट देखिएको र निज सोही विद्यालयमा अध्ययनरत रही छात्रवृत्ति छनौट परीक्षामा प्रतिस्पर्धा गरी छनौट भई बुढानिलकण्ठ स्कुलमा अध्ययन गरिरहेकी छन् । म स्रोत व्यक्ति भएको हुनाले मैले निज अध्ययन गरिरहेको भनिएको भूमिराज सामुदायिक विद्यालयमा गई बुझ्दा निजको भर्ना रजिष्ट्ररमा नाम अभिलेखित रहेको, निजले सोही विद्यालयमा कक्षा ४ अध्ययन गरी तत्कालीन अवस्थामा कक्षा ५ मा अध्ययन गरिरहेको भनी सो विद्यालयका प्रधानाध्यापिकाले लिखितरूपमा प्रमाणित पनि गरिदिएको र त्यस बखतमा निज त्यही विद्यालयमा अध्ययनरत रहेको देखिएकोले सोहीबमोजिमको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा दिएको थिएँ । जिल्ला शिक्षा कार्यालय, बैतडीको आ.ब. ०७०/०७१, च.नं. १७७२, मिति २०७१/१/३० मा विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा विभाग, सानोठिमीसमेतलाई बोधार्थ दिई "तपाईले झुठ्ठा विवरणको प्रतिवेदन पेस गरेको कारण शिक्षा विभाग (शासकीय सुधार तथा आन्तरिक गुणस्तर शाखा) सानोठिमी, भक्तपुरको च.नं. ३२७ मिति २०७१/१/२३ को पत्रानुसार तपाईलाई शिक्षा नियमावली २०५९ को नियम १३७ को प्रावधानअनुसार ५ वर्षसम्म तलब वृद्धि रोक्का गर्ने गरी कारवाही गर्नु नपर्ने कुनै कारण भएमा ७ दिनभित्र लिखित स्पष्टीकरण" पेस गर्नु भनी अकस्मात् स्पष्टीकरण माग