निर्णय नं. ९८१० - बहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१० - बहुविवाह भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/११/३० १०७८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७३।११।३० ०७०-CR-०२९९ मुद्दाः- बहुविवाह । पुनरावेदक / वादी : मालादेवी भण्डारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मोरङ जिल्ला, होक्लावारी गा.वि.स. वडा नं. २ बस्ने छत्रबहादुर भण्डारीसमेत लोग्ने र सौतासँगै बसी निजहरूको वैवाहिक सम्बन्धलाई स्वीकार गर्ने र आफ्ना विरूद्धको अपराध स्वीकार गर्ने यी जाहेरवालीले तत्काल कहिँकतै उजुर बाजुर नगरी लामो अन्तरालपश्चात् आफूलाई मन लागेको बखत उजुर गर्न पाउने भन्न मिल्दैन । यस्तो स्थितिमा हदम्यादसम्बन्धी कानूनको उद्देश्य र आवश्यकतातर्फ विचार गर्नु पनि जरूरी देखिने । कुन काम वा क्रियालाई फौजदारी कानून भनी मान्नुपर्ने हो, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने हो र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरी सक्नुपर्ने हो भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने कुरा हुन् । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने कुरा हो । यी सबै विधायिकी कार्यक्षेत्र (Legislative Function) भित्रका कुरा हुन् । तर ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागू गर्नुपर्ने । बहुविवाहको क्रियालाई विहावारीको ऐनले दण्डनीय फौजदारी कानूनको रूपमा परिभाषित गरी सो सम्बन्धमा अभियोग दाबी गर्ने वा मुद्दा गर्ने समयावधिको सीमा पनि सोही महलको ११ नं. ले निर्धारित गरेको छ । अर्थात् बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेको छ । यसमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा विधायकिय मनसायविपरीत असीमित वा खुल्ला हदम्यादको रूपमा परिणत वा परिभाषित गर्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६३, नि.नं.७६९४६७, पृ.५५४ ने.का.प.२०६८, अंक ११, नि.नं.८७१६ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री चण्डीराज ढकाल पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री गोपाल पराजुली मा.न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी फैसला न्या. देवेन्द्र गोपाल श्रेष्ठ : पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।९।१ को फैसलाउपर यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई सोही ऐनको दफा ९(१) अनुसार यसै अदालतको अधिकार क्षेत्रअन्तर्गतको भई पुनरावेदन पत्र दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०४१।१०।१६ गते जिल्ला मोरङ, होक्लाबारी-२ बस्ने छत्रबहादुर भण्डारीले म श्रीमती हुँदाहुँदै रूपादेवीलाई विवाह गरेको र निजको श्रीमती घरमा भएको थाहा हुँदाहुँदै विवाह गरी आएकोले निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।