निर्णय नं. ९८१२ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८१२ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१०/१८ १३८६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७३।१०।१८ २०६८-CR-१२९४ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : दिलबहादुरको छोरा जिल्ला भोजपुर मुलपानी गा.वि.स.वडा नं.१ घर भई हाल क्षेत्रीय कारागार शाखा झुम्कामा थुनामा रहेका कुमार गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : माया गुरूङको जाहेरीले नेपाल सरकार समयको अन्तरालपछि अदालतमा भएको बकपत्रमा पीडित र जाहेरवालाले प्रतिवादीलाई फाइदा पुग्ने गरी वा सजायबाट उन्मुक्ति दिने कुनै लोभ लालच वा प्रभाव वा दबाबसमेतमा परी वा माफी दिने सोच बनाई आफ्नै मौकाको भनाईलाई खण्डन गरेपनि पीडितको स्वास्थ्य परीक्षणले वारदात स्थापित भइरहेको अवस्थामा पीडितको मौकाको भनाईलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ५) फौजदारी मुद्दामा अभियुक्तबाट आरोपित कसुर भएको हो होइन भन्ने तथ्यगत सबुदहरूको आधारमा निष्कर्षमा पुगी निर्णय गर्नुपर्ने हुन्छ । हाम्रो समाजमा सामाजिक र पारिवारिक स्थितिको कारणले प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिने नियतले स्वयम् पीडितलगायत कसैले अदालतमा आई मौकाको बयानविपरीत इन्कारी बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ता त्यसतर्फ सजग हुनुपर्दछ । मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी प्रतिवादीले कसुर गरेको हो होइन भनी निष्कर्षमा पुग्नु पर्ने । निरपराध ठहर हुने गरी कसैले प्रतिवादीका हकमा बयान दिएको आधारबाट मात्र प्रतिवादीलाई उन्मुक्ती दिन नमिल्ने । पीडितले मौकामा बयान गर्दा करणी गरेको भन्ने प्रतिवादीउपर पोल गर्दै साबिती बयान गर्ने र अदालतसमक्ष होइन भनी इन्कारी बयान गरेकै आधारमा कसुर ठहर हुने र नहुने भन्नु भन्दा पहिले फरक फरक अभिब्यक्तिका बयानमा उल्लिखित अन्तरनिहित वस्तुस्थितिलाई विश्‍लेषण गर्दै निष्‍कर्षमा पुग्नु पर्ने । प्रस्तुत मुद्दा गम्भिर प्रकृतिको भएको र यस्ता मुद्दामा प्रतिवादीले साक्षीहरूलाई आश, त्रास वा प्रलोभनमा पारी अनुसन्धानका क्रममा मौकामा दिएको बयानमा अन्यत्र मोड्न Hostile बनाउन खोज्दछन् । Hostile भएकै आधारमा प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिन नमिल्ने । मिसिल संलग्न रहेका प्राप्‍त प्रमाणहरूबाट प्रतिवादीले कसुर गरेको स्थापित हुन आएको स्थितिमा पीडित जाहेरवालाले प्रतिवादीले कसुर गरेको होइन भनी बकपत्र गरी दिँदैमा मिसिलबाट स्थापित तथ्यलाई अन्यथा गर्न नमिल्ने । अपराध हुँदाको परिस्थिति, समय र पक्षको भनाई र मिसिल संलग्न प्रमाणहरूको विश्‍लेषण गरी कसुर भएको हो वा होइन भनी यकिन गरी कसुर गर्ने प्रतिवादीलाई सजाय दिनु न्यायको मान्य सिद्धान्त हुने । (प्रकरण नं. ७) आफ्‍नै श्रीमतीले पतिउपर र आफ्‍नै छोरीले बाबुउपर आफूहरूको भविष्‍यमाथि प्रश्न उठ्ने गरी अनाहकमा मौकामा उजुर गरे होलान भनी अनुमान गर्न मिल्दैन । अदालतसमक्ष बकपत्र गर्दा इन्कारी बयान गरेकै आधारमा अन्य प्रमाण नहेरी कसुरबाट उन्मुक्ती दिनु न्यायसङ्गत पनि नहुने । जबरजस्ती करणी अपराधमा चश्‍मदिद गवाह पीडितनै हुन्छन् । पीडितले मौकामा ब्यक्त गरेको कुरा नै सत्य हुन्छ किनकी त्यसबेला आफूलाई परेको पीडा मानसपटलबाट हटेको नहुने । (प्रकरण नं. ११) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता भूपाल बस्नेत प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल अवलम्बित नजिर : ने.का.प.२०६१, अंक ७, नि.