निर्णय नं. ९८१७ - भ्रष्टाचार (नक्कली प्रमाण पत्र)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१७ - भ्रष्टाचार (नक्कली प्रमाण पत्र) भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/११/२४ ८११४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।११।२४ ०६६-CR-००५० मुद्दाः- भ्रष्टाचार (नक्कली प्रमाण पत्र) पुनरावेदक / प्रतिवादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत नेत्रप्रसाद सुवेदीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : प्रयागराज आचार्यको नाति जयहरि आचार्यको छोरा, जुम्ला जिल्ला विराट गा.वि.स. वडा नं.७ सिंजा घर भई जिल्ला प्रशासन कार्यालय, रामेछापमा सहायक प्रमुख जिल्ला अधिकारी (शा.अ.) पदमा कार्यरत जयनारायण आचार्य विवादित प्रमाण पत्र पेस गरेको कुरालाई प्रतिवादीले अनुसन्धान एवं अदालतसमक्ष स्वीकारी बयान गरेको अवस्थामा सो प्रमाण पत्र झुठ्ठा देखिएपछि प्रतिवादीले आरोपित कसुर गरेको होइन भनी भन्न मिलेन । मुद्दाको जरियामा उठेको विवादको निरूपण सोही बिन्दुमा समाप्त हुने गरी अदालतले निर्णय दिनुपर्ने । (प्रकरण नं. ८) लोक सेवा आयोगको दरखास्त फाराममा आफूले तल्लो तहको शैक्षिक योग्यता उल्लेख गर्नुपर्ने महलमा झुट्ठा प्रमाण पत्र नै उल्लेख गरिरहेका प्रतिवादीले उक्त ओहदा वा पद प्राप्त गर्नका लागि पेस गरेका हैनन्, थिएनन् भनी मान्नु र सो प्रमाण पत्रको आधारमा नोकरीमा प्रवेश गरेको होइनन् थिएनन् भन्नु मनासिब नदेखिने । (प्रकरण नं. ८) प्रतिवादीले पेस गरेको विवादित शैक्षिक योग्यताको प्रमाण पत्र लोक सेवा आयोगको परीक्षामा सामेल हुन भरिने दरखास्त फाराममा उल्लेख गरेको अवस्था परिस्थितिबाट निजले सो सरहकै वा सो भन्दा माथिल्लो अन्य शैक्षिक योग्यता प्राप्त गरेका छन् भन्ने आधारमा सो प्रमाण पत्र प्रयोगहीन छ भन्ने मानी भइसकेको र गरिसकेको कसुरबाट छुटकारा दिन नमिल्ने । (प्रकरण नं. ८) पुनरावेदक वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता कुलप्रसाद पाण्डे प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, हरिहर दाहाल तथा विद्वान् अधिवक्ता भीमार्जुन आचार्य अवलम्बित नजिर : ने.का.प.२०६८, अंक १०, नि.नं.८६९७ सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) सुरू फैसला गर्नेः- अध्यक्ष मा.न्यायाधीश श्री गौरीबहादुर कार्की सदस्य मा.न्यायाधीश श्री भोलाप्रसाद खरेल सदस्य मा.न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला न्या. आनन्दमोहन भट्टराई : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- लोक सेवा आयोगबाट लिइएको शाखा अधिकृतको खुल्ला प्रतियोगितामा शाखा अधिकृत पदमा उत्तीर्ण भएका जयनारायण आचार्यले इन्टरमिडियट परीक्षाको प्रमाण पत्र भारतबाट ल्याएको हुँदा कारवाही गरिपाउँ भनी पवन कुमार न्यौपानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मिति २०६०।७।७ मा उजुरी (निवेदन) दर्ता गराएको देखियो । सामान्य प्रशासन मन्त्रालयबाट निजको प्रमाण पत्र मगाउँदा निजले शाखा अधिकृत पदमा सुरू नियुक्ती हुन पेस गरेको सन् १९९५ मा अनुक्रमाङ्क ७१५६२७ बाट इन्टरमिडियट परीक्षा, माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्रसमेत प्राप्त भएकोले सो प्रमाण पत्र उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी भक्तपुरमार्फत प्रमाणीकरणको लागि लेखी पठाउँ