निर्णय नं. ४३१६ - बेरीतसंग थुनी कागज गरायो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३१६ - बेरीतसंग थुनी कागज गरायो भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/११ २२४७ निर्णय नं. ४३१६ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् ०४८ सालको फौ.पु.नं. ५१५ फैसला भएको मिति: २०४८।७।११।२ मा पुनरावेदक/वादी : महेन्द्रनगर न.पा. वडा नं. ६ बस्ने परमानन्द भट्ट विरुद्ध विपक्षी : जिल्ला वैतडी श्री कोट गा.वि.स. वडा नं. १ बस्ने धनबहादुर चन्दसमेत मुद्दा : बेरीतसंग थुनी कागज गरायो (१) प्रहरी थानामा बेरीतसंग थुनिएको भन्ने आधिकारिक सबूद वादीले पेश दाखिल गर्न नसकेको, केवल वादीको अभिकथनकै भरमा प्रतिवादीहरुले वादीलाई बेरीतपूर्वक थुनी करकापसंग कागज गराएको भन्न सबूद प्रमाणको अभावमा नमिल्ने । (प्रकरण नं. १८) (२) बेरीतपूर्वक प्रहरी थानामा थुनी, थुनाबाट मुक्त हुनु पूर्व कागज गराएको भन्ने वादी दावी प्रमाणित रुपबाट पुष्टि हुन नसकेको, करकापसंग गराएको भनिएको कागजमा वादीका बाबु र काका साक्षी बसेको समेतबाट वादी दावी सारगर्भित र कानुनसंगत देखिन नआउँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १९) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गोपाल प्रसाद भण्डारी विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. प.क्षे.अ.को फैसला उपर न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान रहेको भन्ने आधारमा पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निर्णय आदेश यस प्रकार छ । २. म भारतको वनवासा भन्ने ठाउँमा पसल गरी बसी रहेको बखत, विपक्षी लोकबहादुर मोटरसाइकलमा चढी म भएको ठाउँमा आई तिम्रो बुबा बिरामी छन बोलाई ल्याउ भनी भनेकाले हामी दुवै मोटरसाइकलमा बस्यौं । मोटर साइकल बुबा भएको ठाउँमा नलगी गडा चौकी प्रहरी छोटी थानामा पुर्‍यायो र थानाका थानेदार विपक्षी प्रेमराज शाहीले रु. ४० हजार तिमीलाई, रामबहादुरले जिम्मा दिएको रुपैयाँ धनबहादुरको भतिजा लोकबहादुरलाई फिर्ता दिनु होस भन्दा मैले इन्कार (साविक पेज नं. ३२१) गरें । रुपैयाँ नदिएसम्म यसलाई थुनामा नै राख्नु पर्छ भनी २०४३।८।२३ देखि ऐ.३० गतेसम्म निज थानेदारले मलाई थुनी थुनाबाट छाड्नु (७) सात घण्टा पूर्व एउटा फुलस्केप कागजमा लेखिएको व्यहोरा नसुनाई धनबहादुर र लोकबहादुरको भनाईमा लागी धाक धम्की करकापसंग थानेदार प्रेमराजले सो कागजको किनारामा रेखात्मक र लेखात्मक सहिछाप गराएकाले सो कागज बदर गरी द.सं.को १२ नं. वेरीतसंग थुन्दाको ४ नं. बमोजिम कारवाही, सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको २०४३।११।५।३ को परमानन्द भट्टको फिरादपत्र । ३. फिराद लेख कपोलकल्पित हो । विवादको कागज विपक्षीकै राजीखुशीले भएको कागज हो । सो कागज बदर गराउन पाए रुपैयाँ पचाउन सकिने बदनियतले म समेत उपर झुठ्ठा फिराद दिएको हो भन्ने समेत व्यहोराको प्रेमराज शाहीको प्रतिउत्तरपत्र । ४. मेरो छोरा कृष्णलाई झुक्याई चेकको रुपैयाँ बैंकबाट भुक्तानी लिई लगेको रुपैयाँमध्ये रु. ४० हजार विपक्षीले रामबहादुरले ठगी गरी ल्याएको भन्ने जानी जानी आफ्नो जिम्मा लिइसकेपछि, रामबहादुर फेला नपरेको हुँदा निजकी आमाको रोहवरमा बुझाउने भाखापत्र कागज गरी आफ्नो राजीखुशीले मलाई दिएको हो । म समेत भई करकापसंग कागज गरे गराएको र बेरीतसंग थुने थुनाएको पनि छैन । ठगी गरी ल्याएका रुपैयाँ विपक्षीले लिने