निर्णय नं. ९८५२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५२ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०१/२८ ३०९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।०१।२८ ०७१-WO-०४७८ विषयः- उत्प्रेषण / परमादेश निवेदक : जिल्ला बाँके साबिक नेपालगञ्ज नगरपालिका वडा नं. ४ हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने नफिस अहमद शेष-१, ऐ.ऐ. बस्ने तरून्नुम बानो शेष-१, ऐ.ऐ. बस्ने को रइस अहमद शेष विरूद्ध विपक्षी : बाँके जिल्ला अदालत, नेपालगञ्ज मुलुकी ऐन, अंशबन्डाको १९ नं. को देहाय १ नं. ले २१ वर्ष नपुगेका छोरा छोरीको पूर्ण संरक्षकत्व पितालाई सुम्पी पिताले गर्ने व्यवहार सदैव निजका सन्तती नाबालकहरूको पक्षमा हुन्छ भनी भरोसा गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाले अन्यथा पुष्टि भएमा बाहेक घरको मूलीले आफ्ना नाममा भएका घर जग्गा सुक्री, बिक्री, लेनदेनसमेत गरेका सम्पूर्ण व्यवहारहरू त्यस्ता नाबालकको हितमा हुन्छन भनी मानेको छ । घर मूलीको व्यवहारबाट सम्पूर्ण अचल सम्पत्ति समाप्त भई १२ वर्ष नपुगेका नाबालकको बीचल्ली नहोस् भन्ने उद्देश्यले दण्ड सजायको २६ नं. ले त्यस्ता नाबालकको भागमा पर्ने सम्पत्ति पर सारी व्यक्ति र सरकारी बिगो भराउनु पर्ने भनी नाबालकको हितको लागि विशेष व्यवस्था गरेको हो । बिगोको भरिभराउ गर्ने प्रयोजनका लागि तायदात जायजात तथा लिलामसमेतको कारवाही गर्दा १२ वर्षमुनिका नाबालक देखिएमा मात्र यो कानूनी व्यवस्था आकर्षित हुने । कपाली तमसुक हुँदा, मुद्दा दर्ता हुँदा र उक्त मुद्दामा अदालतबाट फैसला हुँदा ऋणीका सगोलका सन्ततीहरू १२ वर्षमुनिको नाबालक देखिए पनि त्यस अवस्थामा मुलुकी ऐन, अंशबन्डाको १९ नं. को देहाय १ नं. आकर्षित हुन्छ । सो समयमा पिताले गरेको व्यवहारमा साबालक भइसकेपछि बिगोको कारवाही हुँदा अंश हकको प्रश्न उठाउने अधिकार त्यस्ता साबालक छोरा छोरीलाई हुन्छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ५) काम गरी जीवन निर्वाह गर्न सक्षम भइसकेका व्यक्तिले पिताले खाएको ऋण पिताको नामको सम्पत्तिबाट भरी भराउ गर्नबाट रोक्न पाउने हो भने घरको मुख्य व्यक्ति परिवारको भरण पोषण गर्नसमेतका लागि व्यवहार गर्न असक्षम हुन पुग्ने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान अधिवक्ता राकेशकुमार शर्मा विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ता कृष्णप्रसाद सुवेदी अवलम्बित नजिर : नेकाप २०६८, अंक ६, नि.नं.८६३२, पृ.९९७ सम्बद्ध कानून : मुलुकी ऐन, दण्ड सजायको २६ नं. आदेश न्या.गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः- निवेदकको निवेदन व्यहोरा वादी मोहम्मद अय्युब हलवाइ प्रतिवादी स्व. हबिबुल रहमान शेष भएको लेनदेन मुद्दामा श्री बाँके जिल्ला अदालतबाट वादी दाबीबमोजिमको साँवा ब्याज प्रतिवादीबाट वादीले भराई लिन पाउने ठहरी मिति २०५४/३/२४ गते भएको फैसलाउपर प्रतिवादीले पुनरावेदन नगरी अन्तिम रहेको छ । सो फैसलाउपर वादी मोहम्मद अय्युब हलवाईले साँवा ब्याज कोर्ट फीसमेत भराई पाउन प्रतिवादी स्व. हबिबुल रहमान शेषको नाउँको ने.ग.न.पा. तालु उत्तरलाइन बिस्कोरियनटोल दक्षिण मुखा नं. १३८ को (क) श्रेणीको ज.वि. ०-१-१४ जग्गा र सो मा बनेको भुइँतल्ले घर देखाई श्री बाँके जिल्ला अदालतमा मिति २०५४/६/१४ मा दरखास्त गर्नुभयो । ने.ग.न.पा.