निर्णय नं. ९८५३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५३ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०७/२१ ३००२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।०७।२१ ०७२-WO-००७५ मुद्दाः उत्प्रेषण रिट निवेदक : ललितपुर जिल्ला ललितपुर ललितपुर उ.म.न.पा. वडा नं. १३ स्थित आन बलेफी हाइड्रो पावर प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक तथा आफ्ना हकमा समेत ऐ. वडा नं. १३ बस्ने वर्ष ५९ को महेशकुमार सिंह विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौसमेत नवीकरणको निवेदन सँगसँगै नवीकरण दस्तुर सामेल नगरी अनुमति पत्रको अवधि समाप्त भएको दुई दिनपछि दस्तुर समावेश गरेको प्रक्रियालाई कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं. ६) राज्य र आयोजनाको अनुमति पत्र प्राप्त गर्ने कम्पनी बीच अनुमति पत्र प्राप्त गर्दाको समयमा उल्लिखित सर्तहरू दुवै पक्षबीच लागू हुने एक प्रकारको कानून नै हो । ती सर्तहरू र तत्सम्बन्धी ऐन, कानून र निर्देशिकाका प्रावधानहरू दुरूस्त समयमा जस्ताको तस्तै दुवै पक्षहरूले नै पालना गर्नुपर्ने । तोकिएको अवधिमा आयोजनाको प्रगति जे जस्तो भए पनि त्यसको कार्य प्रगति प्रतिवेदन लिनेतर्फ अग्रसर नहुने र जे जस्तो जति प्रगति भए पनि त्यसतर्फ पूर्णतः अनदेखा गरी केवल अनुमति पत्रलाई नवीकरण गरी दिनेतर्फ मात्र अग्रसर भइरहनु हुँदैन । आयोजनाको अनुमति पत्र नवीकरण गर्नुपूर्व सो अवधिसम्म गर्नुपर्ने कार्य प्रगति सम्पन्न गर्नेतर्फ आशा एवम् उत्साहजनक रूपमा प्रगति भए नभएको हेरेर मात्र अनुमति पत्रको नवीकरण गर्ने नगर्ने तर्फ नै निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३) आयोजनाको आशातीत कार्य प्रगति बिना अनुमतिपत्रको नवीकरणको प्रक्रिया अनुमति पत्रको सर्त र निर्देशिकाबमोजिम अगाडि बढेर अनुमति पत्रको नवीकरण हुनै नसक्ने । (प्रकरण नं. १३) रिट निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की, विद्वान् अधिवक्ताहरू तिलक शमशेर ज.ब.रा., माधवकुमार बस्नेत, ललितबहादुर बस्नेत, सेमन्त दाहाल विपक्षीको तर्फबाट : नायब महान्यायाधिवक्ता किरण पौडेल अवलम्बित नजिर : नेकाप २०३६, अंक १, नि.नं.४८३४ नेकाप २०३६, अंक १०, नि.नं.८२३५ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), १३, १९ विद्युत् ऐन, २०४९ विद्युत् उत्पादन सर्वेक्षण नियमावली, २०५० जलविद्युत् आयोजना अनुमति पत्रसम्बन्धी निर्देशिका, २०६८ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- निवेदक आन बलेफी हाइड्रो प्रा.ली. ले बलेफी बी जलविद्युत् आयोजनाको सर्वेक्षण, अनुमतिपत्र मिति २०६९/२/१२ मा विद्युत् विभागबाट (क्षमता ४.५३३ मे. वाट) प्राप्त गरी काम सुरू गरेको हो । अनुमति पत्रको म्याद मिति २०७१/१/२६ सम्म तोकिएकोमा मिति २०६९/१०/४ मा विद्युत् विकासबाट क्षेत्र थप भई तोकिएकै समयावधिसम्मका लागि अनुमति पत्र प्राप्त भएकोमा क्षेत्र थप पश्चात् आयोजनाको सम्भावित क्षमता २० मेगावाट अनुमान गरिएको हो । परिणामतः निवेदकले मिति २०६९/१०/४ देखि मिति २०७१/१/२६ सम्म जम्माजम्मी १ वर्ष ४ महिना मात्र कार्य सम्पादन गर्ने अवसर पाएको तथ्यमा विवाद हुन सक्दैन । जबकि नियमानुसार सुरूको सर्वेक्षण अनुमति पत्रको म्याद कम्तीमा २ वर्ष हुनुपर्ने र जम्मा समयाव