निर्णय नं. ९८५४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५४ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०१/२९ ४५४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।०१।२९ ०७१-CR-१३८९ मुद्दाः जबरजस्ती करणी । पुनरावेदक / प्रतिवादी : जिल्ला दाङ, हापुर गा.वि.स. वडा नं. २ घर भई हाल कारागार कार्यालय तुलसीपुरमा कैदमा रहेको देवेन्द्र गिरी विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नामथर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) को जाहेरीले नेपाल सरकार मोबाइलमा सम्पर्क भएको वा मिसकल (miss call) गरेको भन्ने आधारमा मात्र करणीकै लागि प्रतिवादीहरूलाई आमन्त्रण भएको थियो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ४) आफूलाई जबर्जस्ती करणी भएको भनी महिलाले तथ्यसहित उजुर गरिरहेको परिप्रेक्ष्यमा नेपाली समाजको वर्तमान अवस्था, एउटी महिलाको इज्जत प्रतिष्ठाप्रतिको सामाजिक दृष्टिकोण र साँघुरो यौन स्वतन्त्रताको नेपाली परिवेशमा अन्यथा स्थापित हुने अवस्था नदेखिएसम्म एउटी महिलाले रातको समयमा दुई जना व्यक्तिहरूलाई एकसाथ बोलाई पालै पालो करणी गर्न मन्जुरी दिइन् होला भनेर विश्वास गर्न सकिने अवस्था नरहने । (प्रकरण नं. ५) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू नारायणप्रसाद देवकोटा र महानिधी सेढाइ प्रत्यर्थी वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता दुर्गा खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री विश्वमंगल आत्रेय पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री पदमराज भट्ट फैसला न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, तुलसीपुरको मिति २०७१/९/२० को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- मिति २०६९/१०/१३ गते राति अ. २१:०० बजेको समयमा मामाका छोराछोरी वर्ष ११/१२ का भाई बहिनीहरूसँग सुतिरहेको अवस्थामा माधव गिरी र देवेन्द्र गिरी म सुतिरहेको घरको झ्यालबाट भित्र प्रवेश गरी मेरो मुख रूमालले थुनी मलाई कोठाबाट लतार्दै घिसारेर दुवै जनाले घरदेखि दक्षिणतर्फ रहेको खरकट्टीमा लगी मेरो घाँटी र मुखमा गलबन्दी रूमालले बाँधी दुवै जनाले जबरजस्ती करणी गरेको हुँदा निज अन्यायीहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको परिवर्तिति नाम थर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) को जाहेरी दरखास्त । जिल्ला दाङ, हापुर गा.वि.स. वडा नं. ४ स्थित पूर्व भन्मै सोता, पश्चिम दुर्घ बहादुर न्यौपानेको खेतबारी, दक्षिण बाँझो खेतबारी र उत्तर दुर्घबहादुर न्यौपानेको खेतबारी यति चार किल्लाभित्र रहेको खरको झाडीमा मिति २०६९/१०/१३ गते राति अ. २१:०० बजेको समयमा परिवर्तित नाम थर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) लाई देवेन्द्र गिरीसमेतका व्यक्तिले जबरजस्ती करणी गरेको भनिएको ठाउँमा माटो खोस्रिएको, खर उखेलिएको, कुल्चिएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । परिवर्तित नाम थर जिल्ला प्रहरी कार्यालय, दाङ (ञ) को स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा कुने बाहिरी चोटपटक नदेखिएको, निजको योनिको पछाडी भागमा सामान्य चोट देखिएको, कन्या जाली च्यातिएको, घस्रिएको चिह्न देखिन्छ भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट । प्रतिवादीहरू माधव गिरी र देवेन्द्र गिरीको स्वास्थ्य परीक्षण गर्दा निजहरूको शरीरमा कुनै चोटपटक नदेखिएको, लिङ्गको अवस्था सामान्य रहेको