निर्णय नं. ९८५५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८५५ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०५/०४ २८११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।०५।०४ ०७२-WO-०००७ विषय : उत्प्रेषण / परमादेश निवेदक : तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं. ४ बस्ने रन्जित बोहोरा विरूद्ध विपक्षी : काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मुख्य कार्यालय, त्रिपुरेश्वर मार्ग, काठमाडौंसमेत वैकल्पिक उम्मेदवारको सूची राखिनुको औचित्य र सन्दर्भ भन्‍ने नै योग्यता क्रमको सिफारिसमा परेका अघिल्ला उम्मेदवार निश्‍चित समयभित्र सम्बन्धित पदमा नरहेमा वा सो पद रिक्त भएमा सोही पदमा अर्को परीक्षा लिइरहनु नपर्ने र वैकल्पिक उम्मेदवारलाई क्रमैसँग सिफारिस गर्नुपर्दछ भन्‍ने नै हुने । सुरू नियुक्त हुने कर्मचारीलाई परीक्षणकालमा राखिनुको अर्थ सो अवधिभित्र उक्त उम्मेदवार कतिपय कारणले अयोग्य ठहरिन सक्छ वा अन्य कतिपय कारणले नियुक्ति सिफारिस भएको पद सो अवधिभित्र रिक्त हुन सक्छ । यसरी सो अवधिभित्र उम्मेदवार अयोग्य ठहरिएको अवस्थामा वा पद रिक्त भएको अवस्थामा प्रतिक्षा सूचीमा रहेका वैकल्पिक उम्मेदवारलाई नै सिफारिस गर्नुपर्ने । (प्रकरण नं. ४) काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ को १७(२) ले नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा भन्‍ने प्रावधान तथा विनियमावलीको विनियम १८(१) को परीक्षणकालको व्यवस्थालाई सान्दर्भिक तथा स्वर्णीम व्याख्या गर्नुपर्ने हुन्छ, जसले गर्दा एउटै पदमा तत्कालै पटक पटक परीक्षा लिई रहनु नपरोस् भनी वैकल्पिक उम्मेदवारको सिफारिस गर्ने कानूनी व्यवस्था र पद्धतिलाई समेत परिपोषित गर्ने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता बच्चु सिंह खड्का विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ को विनियम १७(२) आदेश न्या.दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम्‌ ठहर यसप्रकार छ :- विपक्षी काठमाडौं उपत्यका खानेपानी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम स्थापित भएको नेपाल सरकारको पूर्ण स्वामित्व भएको लिमिटेड कम्पनी हो । विपक्षी लिमिटेडको पदपूर्ति समितिले “खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सूचना” भनी मिति २०६९।११।१९ को गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकोमा सो सूचनाको विज्ञापन नं. ३९।०६९।०७० को “ओभरसियर” पद (पद संख्या २) मा म निवेदकको योग्यता पुगेको हुँदा खुल्ला प्रतियोगितामा सहभागी हुनको लागि मैले सो सूचनाको अधिनमा रही दरखास्त फारम भरी परीक्षामा सहभागी भई लिखित परीक्षा उत्तीर्ण भएको र अन्तर्वार्तासमेत दिई मिति २०७१।०५।१० को गोरखापत्रमा त्यसको परिणाम प्रकाशित भएको र सो परिणामअनुसार निवास गुरागाई र गणेशकुमार मल्ल योग्यताक्रम १ र २ मा छनौट हुनु भएको र म निवेदक वैकल्पिक सूचीको पहिलो नम्बरमा परेको अवस्था थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ (छैटौं संशोधनसहित) को विनियम १७(२) मा “रिक्त पदमा नियुक्तिको लागि सिफारिस भएको व्यक्तिलाई सिफारिस भएको मितिले एक महिनाभित्र नियुक्ति गर्ने अधिकारीले पदको कार्य विवरणसहित