निर्णय नं. ९८५६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८५६ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०१/०५ ७९८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७४।०१।०५ ०७१-CR-०८७५ मुद्दाः जबरजस्ती करणी । पुनरावेदक / प्रतिवादी : काभ्रे जिल्ला बालुवापाटी गा.वि.स. वडा नं. ५ नगरकोट घर भई हाल कारागार कार्यालय काठमाडौंअन्तर्गत केन्द्रीय कारागारमा थुनामा रहेका वर्ष २५ का विजय सुन्दास विरूद्ध विपक्षी / वादी : रामेछाप जिल्ला भलाजोर गा.वि.स. वडा नं. ६ घर भई हाल का.जि.म.न.पा. वडा नं. १८ मा बस्ने वर्ष ४१ की मञ्जु नेपालीको जाहेरीले नेपाल सरकार जबरजस्ती करणी जस्तो अपराधमा न्यायको रोहबाट न्यायको लागि संवेदनशील हुनुपर्ने हो तर पनि अति संवेदनशील भई एकतर्फी रूपमा विचार गर्दा न्याय मर्न जाने हुँदा विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी न्यायमा पुग्नु पर्ने । पीडितको बकपत्र कसुरमा मुख्य कडी भए पनि सो बकपत्रको पुष्ट्याईं शंकारहित रूपबाट नभएमा बकपत्रलाई यान्त्रिक रूपबाट प्रमाणको रूपमा ग्रहण गरी सजाय गर्नु विवेकयुक्त मान्न नसकिने । प्रतिवादीले मौकामा गरेको बयानमा जबरजस्ती करणीको उद्योगमा साबितै रहेको देखिएकोमा ततिम्बा बयान गराई जबरजस्ती करणीको कसुरमा साबिती गराएको देखिन्छ जबकि ततिम्बा बयान गराउँदा अगाडि स्पष्ट नभएका कुरामा मात्र सोधी प्रष्ट गराउनुपर्दछ भन्ने कानूनी व्यवस्था भएकोमा प्रतिवादीलाई अघि नै स्पष्टसँग उल्लेख गरेको कसुरसँग असम्बन्धित कसुरमा साबित गराएको देखिन्छ जुन कुरा कानून र न्यायसम्मत हुन आउँदैन । तसर्थ उपर्युक्त विवेचनाबाट प्रतिवादीले जबरजस्ती कगणी गरेको नभई जबरजस्ती करणीको उद्योगसम्म गरेको तथ्य समर्थित भएको देखिने । (प्रकरण नं. ९) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता चन्द्रबहादुर बस्नेत विपक्षी वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्याम भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) जबरजस्ती करणीको महलको १ र ३(३) नं. सुरू तहमा फैसला गर्नेः मा.न्यायाधीश श्री विष्णुप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेछ:- म जाहेरवालीको छोरी हाल नाम परिवर्तन परिवर्तित "परिसर-ष" लाई प्रतिवादी विजय सुन्दासले का.जि.म.न.पा. वडा नं. १८ नरदेवी स्थित मेरो कोठामा कोही नभएको मौका पारी छोरीको संवेदनशील अंगमा हात हाल्ने गरेको र मिति २०६९।१।३ गते बिहान ११:०० बजेको समयमा छोरी मात्र कोठामा भएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भनी निज छोरीले भनेकी र वरिपरिका मानिसहरूबाट थाहा पाएको हुँदा निज प्रतिवादी विजय सुन्दासलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग महलअनुसार हदैसम्म कारवाही गरिपाउँ भन्ने व्यहोराको मञ्जु नेपालीको जाहेरी दरखास्त । का.जि.म.न.पा. वडा नं. १८ नरदेवी स्थित पूर्वमा श्याम महर्जनको घर, पश्चिममा आयुर्वेदिक अस्पताल, उत्तरमा नरेन्द्रप्रसाद भुलको घर र दक्षिणमा बसन्त महर्जनको घर यति चारकिल्ला रहेको अमिरमान शाक्यको ५ तले घरको माथिल्लो तलामा पूर्व मोहडामा जाहेरवाली मञ्जु नेपालीको कोठा रहेको उक्त कोठाभित्र हेर्दा पूर्वपट्टी सुत्ने बेड रहेको, उक्त कोठाभित्र प्रति