निर्णय नं. ९८७९ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८७९ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०४/२२ ७६३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७४।०४।२२ ०६७-CR-०७२७ मुद्दा :- जबरजस्ती करणी पुनरावेदक / वादी : पट्टु वि.क. (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुर्खेत अवलचिङ्ग गा.वि.स. वडा नं. ६ सातमुल बस्ने वासुदेव सावद वारदातको दिन आफूलाई सो वारदातमा नभई अन्य ठाउँमा छु भनी देखाउने व्यक्तिले त्यस ठाउँमा भएको सबुत गुजार्नु पर्ने । (प्रकरण नं. ३) जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुने । पीडितले अदालतमा समेत आई आफूउपर घटेको घटनाको सम्बन्धमा सविस्तार वर्णन गरी मौकामा दिएको जाहेरीलाई समर्थित हुने गरी बकपत्र गरिदिएको तथा पीडितको शरीरको विभिन्न भागहरूमा निलडामहरू भएको भन्ने पीडितको तत्काल भएको शारीरिक परीक्षण रिर्पोटमा उल्लेख भएबाट करणी गर्ने कार्यमा पीडितको मन्जुरी नभएको पुष्टि हुन्छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हुने । (प्रकरण नं. ५) पुनरावेदक वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता लोकराज पराजुली प्रत्यर्थी प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०३९, अंक ३, नि.नं.१५४२ ने.का.प. २०४५, अंक १०, नि.नं. ३६१३ ने.का.प. २०७१, अंक ११, नि.नं.९२८३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा १०(१) न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) सुरू तहमा फैसला गर्ने:- मा.जिल्ला न्यायाधीश श्री कृष्णबहादुर थापा पुनरावेदन तहमा फैसला गर्ने:- मा.का.मु.मुख्य न्या. श्री विश्वनाथ जोशी माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र फैसला न्या. मीरा खड्का : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) अन्तर्गत निवेदन परी निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यसप्रकार रहेको छ :- मिति २०६४।५।२१ गते राति अं. १२:०० बजेको समयमा सुर्खेत अवलचिङ्ग गा.वि.स. वडा नं. ६ सातमुल बस्ने वर्ष ४२ का वासुदेव सावद दियालो माग्ने बहानामा मेरो घरमा आई ढोकामा लात्तीले हानी जबरजस्ती ढोका खोल्न लगाई मेरो कोठाभित्र प्रवेश गरी सरासर मेरो कोठामा गई मेरो खाटमा पल्टिई आज म यहीँ सुत्दछु भनेपछि मैले यहाँ नसुत आफ्नो घरमा गईहाल भनेँ । त्यसपछि विपक्षी प्रतिवादीले मलाई बाहिर गईहाल भन्ने तँ को होस् तँलाई आज म छाड्दिन भनी मलाई खाटमा पल्टाई कुटपिटसमेत गरी हारगुहार गर्न नदिई जबरजस्ती करणी गरी भागी गएकाले निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको पीडित पट्टु वि.क. (परिवर्तित नाम) को किटानी जाहेरी दरखास्त । जबरजस्ती करणी भएको छैन भन्न नसकिने, शरीरको विभिन्न भागहरूमा निलडामहरू भएको भन्ने पीडित पट्टु वि.क. (परिवर्तित नाम) को स्वास्थ्य परीक्षण रिपोर्ट । जिल्ला सुर्खेत अवलचिङ्ग गा.वि.स. वडा नं. ६ स्थित नैनसिंह वि.क.को २ तले चार कोठे फुसको छानो भएको घरको बीच तलाको बीचको कोठामा मिति २०६४।५।२१ गते राति अं. १२:०० बजेको सम