निर्णय नं. ९८८८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८८८ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७४/०२/०७ ३५१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।०२।०७ ०६९-WO-१२५३ विषयः उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ मरूहिटी बस्ने वर्ष ६३ को अमृतमान राजभण्डारीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेत धार्मिक परोपकारी कार्य गर्नको लागि राखेको गुठी जग्गामा सडक निर्माण भएको अवस्थामा त्यसको मुआब्जासमेत नपाउने हो भने गुठीको आम्दानीको स्रोत गुम्न पुगी जुन उद्देश्यबाट गुठी राखिएको हो त्यसको पूर्ति हुन नसकी प्रतिकूल असर पर्न जाने देखिन्छ । जसको परिणामस्वरूप गुठीको उद्देश्य नै पराजित भई धर्मलोपको अवस्था उत्पन्‍न हुने जाने हुन्छ र धार्मिक स्वतन्त्रता, स्वधर्मको कार्यमा प्रतिकूल असर पर्न गई धार्मिक आस्थामा चोट पुग्न सक्ने । (प्रकरण नं. ३) सार्वजनिक प्रयोगका लागि राज्यले व्यक्तिको निजी सम्पत्तिमाथि अधिकार ग्रहण गर्न सक्छ तर यसरी निजी सम्पत्ति प्राप्‍त गर्दा कानूनबमोजिमको उचित क्षतिपूर्ति दिनुपर्ने हुन्छ । विना क्षतिपूर्ति राज्यले व्यक्तिको सम्पत्ति प्राप्‍त गर्न नसक्ने । (प्रकरण नं. ४) एउटै विषयमा कसैलाई मुआब्जा दिने कसैलाई नदिने गरी राज्यबाट असमान व्यवहार गरिनु स्वीकार्य हुन नसक्ने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विश्व भट्टराई र हरिहर पौडेल विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- हामी दाजुभाइहरूको संयुक्त नाममा मालपोत कार्यालय, कलंकी काठमाडौंमा दर्ता हक रहेको हामीहरूको पूर्ण हकभोग स्वामित्वको काठमाडौं जिल्ला छैमले गा.वि.स. वडा नं. ४ट कित्ता नं. ३२ क्षेत्रफल रोपनी ३-८-०-०, ऐ.ऐ. कि.नं. ४५ क्षेत्रफल रोपनी १०-०-०-०, ऐ.ऐ. कि.नं. ४३ क्षेत्रफल रोपनी ०-१२-०-० र ऐ.ऐ. वडा नं. ४ठ कित्ता नं. २८ क्षेत्रफल रोपनी ४-१०-०-० जग्गा हामीहरूको निजी गुठी चलाउने प्रयोजनको लागि राखिएको निजी गुठीअन्तर्गतको जग्गा हो । उक्त जग्गाको आयस्ताबाट वर्षेनी वैशाख पूर्णिमाका दिन नारायण भगवानको पूजाआजा गरी दाजुभाइहरू भेला भई भोज (प्रसाद) खाँदै आइरहेको छौं । जसअनुसार सो निजी गुठी हामीहरूले सञ्चालन गर्दै गुठी धर्म संस्कृतिको संरक्षण हामीहरूले यद्यपि गरी आएका छौं । हामी निवेदकको पूर्ण हकभोग स्वामित्वको निजी गुठीको उक्त जग्गामध्ये कित्ता नं. ४५ क्षेत्रफल रोपनी १०-०-०-० मध्ये ७-११-०-० बाँकी कि.नं. ३२, कि.नं. २८ पूरै गरी जम्मा क्षेत्रफल रोपनी १५-१३-०-० जग्गा विपक्षी नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयको मिति २०६६।११।४ को मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं-तराई फाष्ट ट्रयाक आयोजनाको लागि जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम जग्गा अधिग्रहण भई विपक्षी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०६८।४।१८ को गोरखापत्र दैनिकमा मुआब्जाको लागि प्रकाशित सूचनाअनुसार विपक्षीले अधिग्रहणमा लिएको अवस्था छ । जग्गा प्राप्ति सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रकाशित सूचनाअनुसार अधिग्रहणमा परेको उक्त जग्गाको हामी निवेदकहरूले पाउनुपर्ने मुआब्जा रकमको स