निर्णय नं. ९८९१ - नकबजनी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८९१ - नकबजनी चोरी भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०५/१६ ४७२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७३।०५।१६ ०७०-CR-०१३६ मुद्दाः नकबजनी चोरी पुनरावेदक / वादी : सुजन ढुंगानाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला आप्रा गा.वि.स. वडा नं. ३ बस्ने नगेन्द्र खनालसमेत अनुसन्धानको क्रममा लेखाई दिएको व्यहोरालाई नै सर्वोत्तम प्रमाण मानी त्यसैको आधारमा प्रतिवादीहरूलाई सजाय गर्न मिल्दैन । सो अनुसन्धानको क्रममा लेखाइएको व्यहोरा आफैँमा निष्पक्ष प्रमाण हुन सक्दैन । त्यस्ता साक्षी प्रमाणलाई प्रतिवादीहरूले समेत परीक्षण गर्न मौका पाएको खण्डमा मात्र सोलाई विश्‍वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने । (प्रकरण नं. ४) पुनरावेदक / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्र थापा प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री सुष्मालता माथेमा पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ:- मिति २०६१।६।१८ का बिहान राति २:३० बजेको समयमा चोरहरू आई घरको गारो भत्काई भित्र पसी मोटरसाइकलको हेण्डल लक तोडी चोरी गरी लगेको कुरा बिहान उठेपछि मात्र थाहा पाएको हो । उक्त मोटरसाइकल खोजतलास गर्दा फेला पार्न नसकेकोले मोटरसाइकल पता लगाई पाउँ भनी सुजन ढुंगानाको मिति २०६१।६।१८ को जाहेरी दर्खास्त । काठमाडौं जिल्ला महाँकाल गा.वि.स. वडा नं. ७ स्थित जाहेरवाला सुजन ढुंगानाको घरभित्र राखिएको ठाउँबाट बा.१६प. ९०१० नं. को मोटरसाइकल हराएको भन्‍नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०६१।३।१८ मा बा.१६प.९०१० नं. को मोटरसाइकल घरबाटै चोरी भएको भनी जाहेरी दर्खास्त दिएपश्‍चात् चोरी गर्ने व्यक्तिहरूको खोजी गर्ने क्रममा नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित, किशोर अधिकारी, विनोद पण्डितसमेतले चोरी गरेको यकिन हुन आएकोले निज विनोद पण्डितसमेतलाई पक्राउ गरी चोरीको महलअनुसार कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको सुजन ढुंगानाको मिति २०६१।७।१२ को जाहेरी दरखास्त । मिति २०६१।६।१८ को राति सुजन ढुंगानाको नाउँमा रहेको बा.१६प.९०१० नं. को मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी बिक्री वितरणको सरसल्लाहको लागि मोटरसाइकल कोटेश्‍वर चोकको उत्तर पूर्वतर्फको बसस्टपको पार्किङको सडक पेटीमा राखी नगेन्द्र खनाल, महेश दुलाल, राजु पण्डित उभिरहेको अवस्थामा फेला पारी पक्राउ गरी दाखिला गर्न ल्याएका भन्‍ने प्रहरी प्रतिवेदन तथा बरामदी मुचुल्का । मिति २०६१।६।१७ को राति अर्थात् मिति २०६१।६।१८ को १:०० बजेको समयमा म महेश दुलाल, किशोर अधिकारीसमेत ३ जना किशोर अधिकारीको घरबाट चप्‍पल कारखाना गई सो स्थानमा राजु पण्डित, विनोद पण्डित अर्को नाम थाहा नभएको व्यक्तिसँग भेट भई जाहेरवालाको घरमा गई म, विनोद पण्डित र महेश दुलाल बाहिर बसी कोही आउँछ कि भनी घर बाहिर बस्यौं । अन्य नाम थाहा नभएको मानिस जाहेरवालाको घरभित्र पसी उक्त घरको ४ इन्चको गाह्र