निर्णय नं. ९९०४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९०४ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०६/०५ ३४०० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।६।५ ०७०-NF-०००२ विषयः उत्प्रेषण निवेदक / विपक्षी : काठमाडौं जिल्ला महांकाल गा.वि.स. वडा नं. ५ बस्ने कपिलबहादुर चित्रकार विरूद्ध विपक्षी / रिट निवेदक : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.३२ बस्ने श्रीकृष्ण रंजितकार ऋण खाँदाको अवस्थामा सँगै बसेको आधारलाई मात्र प्रमाण मान्ने हो भने त्यसबाट मर्का पर्ने पक्षले न्यायको रोहमा प्रतिवाद गर्न पाउनु पर्दछ, सो नपाएको अवस्थामा प्रतिवाद गर्न नपाएको त्यस्तो कार्यलाई कानूनी मान्यता दिन नमिल्ने । एकासगोलमा रहे बसेकै कारणले मात्र एकासगोलमा लिएको ऋण भनी सगोलका अंशियारहरू सबैले दायित्व बहन गर्नुपर्दछ भनी अर्थ गर्न पनि नमिल्ने । बिगो भराइदिने सिलसिलामा अदालतले साहूले देखाएको अन्य अंशियारको नाममा रहेको सम्पत्तिबाट बिगो भराउँदा ऋणीलाई भन्दा निजका अंशियारहरूको हकमा प्रत्यक्ष असर पुग्ने हुँदा सर्वप्रथम ऋणीकै नाममा रहेको जेथाबाट मात्र भरिभराउ गरी सोबाट असुलउपर नभएमामात्र मुलुकी ऐन, दण्ड सजायको २६ नं. लगायतका प्रचलित कानूनको प्रक्रिया अवलम्बन गरी अन्य सगोलका अंशियारको नाममा रहेको सम्पत्तिबाट भरीभराउ गर्नुपर्ने हुन्छ । लेनदेन मुद्दाको फैसलाबमोजिम वादीले प्रतिवादीसँग बिगो भराई लिन पाउने कानूनी हक वादीमा निहित भए तापनि सो हकलाई निरपेक्षरूपमा हेर्न नमिल्ने । (प्रकरण नं.३) निवेदक / विपक्षीका तर्फबाट : विपक्षी / रिट निवेदकका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६७, नि.नं.८३९८, अंक ६ सम्बद्ध कानून : संयुक्त इजलासबाट फैसला गर्नेः मा.न्या.श्री बलराम के.सी. मा.न्या.श्री भरतराज उप्रेती आदेश न्या.सारदाप्रसाद घिमिरे : यस अदालतको संयुक्त इजलासको मिति २०६७।३।१० को फैसलाउपर न्याय प्रशासन ऐन २०४८ को दफा ११(१)(ख) बमोजिम विपक्षी कपिलबहादुर चित्रकारको तर्फबाट परेको निवेदनमा पुनरावलोकनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- विपक्षी कपिल चित्रकारका एकाघर सगोलका दाजु विपक्षी कमल चित्रकारले निवेदकसँग मिति २०५७।६।३ मा रू.४,००,०००।- नगद रूपैयाँ कर्जा लिई ३ महिनाभित्र बुझाउने भाखा राखी कागज गरिदिनुभएकोमा कबुलबमोजिमको भाखाभित्र कर्जा नतिरेकोले काठमाडौं जिल्ला अदालतसमक्ष फिराद दायर गरेकोमा मिति २०५८।११।८ मा काठमाडौं जिल्ला अदालतबाट र मिति २०५९।१२।१४ मा पुनरावेदन अदालत, पाटनबाट दाबीबमोजिम साँवा ब्याजसमेतको रकम भराई पाउने ठहरी फैसला भएकोले फैसलाबमोजिमको रकम बिगो भराई पाउन काठमाडौं जिल्ला अदालतसमक्ष निवेदन दायर गरी कारबाहीको क्रममा रहँदा रकम बुझाउन आसामी आउनुभएन । कपिलबहादुर चित्रकारको नामदर्ताको का.जि.का.म.न.पा. वडा नं. २७ कि.नं. ६०४ को जग्गा घर पत्ता लगाई उक्त घरजग्गाबाट असुलउपर गरिपाउन काठमाडौं जिल्ला अदालतमा निवेदन गरी विपक्षीलाई पटकपटक म्याद पठाउँदा नबुझेकोले कानूनबमोजिमको रीत पूरा गरी म्याद टाँस गरिएको थियो । विपक्षी कपिलबहादुर चित्रकार र भाइ कमल चित्रकारसमेतले मिति २०६३।२।२८ मा रोक्का फुकुवा गरिपाउँ भनी दिएको निवेदनमा काठमाडौं जिल्ला अदालतको तहसिलदारबाट सगोलमा बस्दा खाएको ऋणको दायित्व सबैले बेहोर्नुपर्ने भनी आदेश भयो । साथै दण्ड सजायको ६१ नं.बमोजिम प