निर्णय नं. ९९०८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९०८ - परमादेश भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०१/२१ ६१५८ सर्वोच्च अदाल, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।१।२१ ०७२-WO-००७० विषय : परमादेश निवेदक : गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं. १० स्थायी ठेगाना भई हाल का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. २० बस्ने अधिवक्ता मन्जु मरासिनी विरूद्ध विपक्षी : राष्ट्रपतिको कार्यालय शीतल निवास, काठमाडौंसमेत राजदूत अथवा कुटनीतिक नियोगका प्रमुखको पद हरेक दृष्टिकोणले महत्त्वपूर्ण हुनुका साथै विदेशमा राज्यको प्रतिनिधित्व गर्ने अत्यन्त जिम्मेवार पदको रूपमा रहने हुन्छ । कुनै पदमा नियुक्ति हुनको लागि के कस्तो योग्यताको आवश्यकता पर्दछ भन्‍ने कुरा सोको पदीय दायित्व, जिम्मेवारी, सो पदाधिकारीले प्रयोग गर्ने अधिकारका प्रकृति जस्ता कुराले निर्धारित गर्दछ । राजदूतले आफू कार्यरत रहेको देशमा उसले गरेको क्रियाकलापसँग राज्यको मर्यादा पनि जोडिएर रहेको हुन्छ । यस परिप्रेक्ष्यमा राजदूत जस्तो मर्यादित एवं जिम्मेवार पदमा नियुक्त हुने व्यक्तिमा केही आधारभूत योग्यता एवं क्षमता हुनुपर्ने कुरा उक्त पदको कार्य प्रकृतिले नै माग गरेको देखिने । (प्रकरण नं.५) राजदूतले निर्वाह गर्नुपर्ने काम र कर्तव्यको प्रकृति हेर्दा निजको आचरण व्यवहारसँग राष्ट्रको हित र इज्जतसमेत गाँसिएको हुँदा यसमा राज्यका आम नागरिकको सरोकार रहने । राजदूत नियुक्तिको विषय विषयको विवाद न्यायिक निरूपणको विषय बन्दैमा यसबाट कार्यपालिकाको कार्यमा हस्तक्षेप भएको मान्न नमिल्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू भिमार्जुन आचार्य, रामप्रसाद अर्याल र मन्जु मरासिनी विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ आदेश न्या. ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) अनुसार दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्‍य एवं आदेश यसप्रकार छ:- राजदूत पद सम्मानित प्रतिष्ठित, सार्वभौमसत्ता सम्पन्न राज्यको प्रतिनिधिमूलक, मर्यादित, कुटनीतिक उन्मुक्ति र सुविधा प्राप्त एक विशिष्ट व्यवसायिक एवं विशेषज्ञ पद हो । नेपाली राजदूतले संविधानमै व्यवस्था गरिएको राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिसम्बन्धी मान्यतालाई ध्यानमा राख्दै आफू नियुक्ति भएको देशमा नेपाल राज्यका तर्फबाट प्रतिनिधित्व गर्नु, आफ्नो राष्ट्रको नागरिकको हितको रक्षा गर्नु, आफू कार्यरत राष्ट्रको सरकारसँग वार्ता गर्नु, आफू कार्यरत राष्ट्रको राजनीतिक, आर्थिक र साँस्कृतिक अवस्थाको बारेमा जानकारी गराउनु, परराष्ट्र नीति र कुटनीतिका सम्बन्धमा राय सल्लाह दिनु, आफू कार्यरत राष्ट्रमा आफ्नो राष्ट्रका विभिन्‍न निकायका काम कारबाहीउपर समन्वय गर्नु, व्यापार, वाणिज्य, आर्थिक, श्रम तथा आप्रवासन साँस्कृतिक, वैज्ञानिकलगायतका क्षेत्रहरूको विकासका बारेमा आफू कार्यरत राष्ट्रको अवस्थाका सम्बन्धमा जानकारी गराउनु, आफ्नो र आफू कार्यरत राष्ट्रका बीच मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धन गर्नु, आफ्नो र आफू कार्यरत राष्ट्रका बीच वाणिज्य / व्यापारिक, आर्थिक, श्रम तथा आप्रावशन, साँस्कृतिक र वैज्ञानिक सम्बन्धको विस्तार गर्नु, राहदानी, प्रवेशाज्ञा, यात्रा अनुमति, कन्सुलर सेवा, आर्थिक कुटनीति (Economic Diplomacy), श्रमसम्बन्धी विषयमा