निर्णय नं. ९११६ - जग्गा दर्तासमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९११६ - जग्गा दर्तासमेत भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/११/२४ ४३०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७३।११।२४ ०६७-CI-०२८५ मुद्दाः जग्गा दर्तासमेत पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.१६ बस्ने इन्द्रादेवी थापासमेत विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने बसन्तबहादुर थापासमेत अबन्डा रहेको जग्गाको विषयमा कुनै कुरा उल्लेख नगरेको अवस्थामा पछि दर्ता स्रेस्ता कायम भएको अवस्थामा सबै अंशियारका बीचमा बराबर अंश भाग लाग्ने नै देखिन आउँछ । बन्डापत्र हुँदा दर्ता हुन नसकेको कारणले बन्डा नगरिएको र सोका सम्बन्धमा बन्डापत्रमा पनि केही व्यहोरा उल्लेख नगरिएको पैतृक सम्पत्ति अंशियारमध्येका कुनै अंशियारले पछि आफ्नो नाममा दर्ता गराए पनि त्यस्तो पैतृक सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म पूर्वअंशबन्डा हुँदाको अवस्थामा कायम रहेका सबै अंशियारहरूको अंश हक निश्रृत रहने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता मुकुन्द शर्मा पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता बद्रीप्रसाद शर्मा अवलम्बित नजिर : ने.का.प. २०६६, अंक ११, नि.नं.८२६० ने.का.प. २०६९, अंक ६, नि.नं.८८४६ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कैलास के.सी. पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की माननीय न्यायाधीश श्री खेमराज शर्मा फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- पिता नेत्रबहादुर र माता रमादेवीका ३ भाइ छोरा र ४ छोरीमध्ये छोरामा जेठो म फिरादी विष्णु कुमारीका पति लक्ष्मण थापा, माहिला म फिरादी वसन्तबहादुर थापा, कान्छो विपक्षी खड्‍कबहादुर थापा र छोरीमा ३ छोरीको विवाह भइसकेको र जेठी छोरी विपक्षी इन्द्रादेवी थापा विवाह नगरी माइतमा बसेकी छन् । यसरी हामी ४ अंशियारबीच २०४७ सालमा छुट्टिई भिन्‍न भएका हौं । आमा रमादेवीको मिति २०४७/१०/१४ मा देहावसान भएको र पिता नेत्रबहादुरलाई हामी फिरादीहरूले पालनपोषण गरी आएकोमा मिति २०६१/१०/२५ मा देहावसान भएको हो । हामी छुट्टिई भिन्‍न हुँदा दर्ता गर्न बाँकी रहेका जग्गाहरू आमा रमादेवीका नाउँबाट दर्ताको कारबाही चली दर्ता हुन बाँकी रहेकोमा आमाको मृत्यु भएकाले दर्ताको कारबाही विपक्षीहरूले चलाउने, खर्च चारै जनाले बेहोर्ने र दर्ता भएपछि चारै जनाले बराबर खाने घरसल्लाह भएअनुसार विपक्षीहरूले कास्की जिल्ला, लामाचौर-९ का साबिक कि.नं.१३५, १३६ र १३७ हाल कायमी कि.नं.७७ र ६० का जग्गाहरू दर्तातर्फ निवेदन दिई ८ नं. नापी गोश्‍वाराबाट मिति २०६३/०९/०६ मा निर्णय आदेश भई स्रेस्ता पुर्जा तयार भइसकेपछि पूर्वसर्तअनुसार हाम्रो २ भाग हामीलाई देउभन्दा नदिएकाले विपक्षीहरूका नाउँमा दर्ता भएका कि.नं.६० बाट पश्‍चिमतर्फ क्षे.फ.०-४-०-२ र कि.नं.७७ बाट पश्‍चिमतर्फ क्षे.फ.०-७-२-३ जग्गा विपक्षीहरूको दर्ता बदर गराई हाम्रा नाउँमा दर्ता गरी हक कायम गरिपाउँ भन्‍नेसमेत व्यहोराको संयुक्त फिराद दाबी । विपक्षी र हामी २०४४ सालमा बाबुबाट र २०५०/१२/१२ मा मालपोत कार्यालय कास्कीबाट र.नं.६२७८ को बन्डापत्र लिखत पास गरी छुट्टिई भिन्‍न भएका हौं । हामीसँग बसिरहेको अवस्था