निर्णय नं. ९९१८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९१८ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०३/२९ ३३७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।३।२९ मुद्दा: कर्तव्य ज्यान ०७१-CR-०३७८ पुनरावेदक / वादी : शान्तमाया वि.क. को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ बस्ने रनबहादुर सुनारको छोरा देव सुनारसमेत ०७१-CR-०५१३ पुनरावेदक / प्रतिवादी : रनबहादुर सुनारको छोरा जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ घर भई हाल पूर्वाञ्चल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैदमा रहेको वर्ष २४ को देव सुनार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ बस्ने शान्तामाया वि.क. को जाहेरीले नेपाल सरकार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. मा उल्लेख भएको “वचन दिने” कार्यको अर्थ सामान्य र सतहीरूपमा ग्रहण गरिनु हुँदैन । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनु पर्दछ । यसमा मनसाय तत्त्व र आदेशात्मक रूपमा वचन दिएको कार्यको विद्यमानता देखिनु पर्दछ । विषय र सन्दर्भअनुसार वचन दिएको कुराको मूल्याङ्कन गरिनु पर्ने । (प्रकरण नं.८) अ.बं.१८८ नं. बमोजिम राय व्यक्त गर्ने र सदर गर्ने कुरा विवादका पक्षले हक अधिकारको रूपमा प्रश्‍न उठाउने पुनरावेदनको विषय होइन । यो केवल विवादित तथ्य, घटनाक्रम, कसुर हुँदाको अवस्था, परिस्थिति, कसुरदारको मनसाय, भवितव्य हो कि भनी सन्देह गर्नुपर्ने अवस्था, कसुरदारले न्यायिक प्रक्रियामा पुर्‍याएको सहयोगलगायतका विविध सामाजिक सन्दर्भहरूलाई मूल्याङ्कन गरी निरूपण गरिने अदालतको स्वविवेकाधिकारको विषय हो । त्यसैले अ.बं. १८८ नं. अनुसार राय व्यक्त गरिएको कुरालाई पुनरावेदनको विषयको रूपमा हेर्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता नारायण बहादुर थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता लव कुमार मैनाली, विद्वान्‌ अधिवक्ता त्रिलोक बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ फैसला न्या. ईश्वरप्रसाद खतिवडा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ स्थित पूर्व खलेचौर जाने कच्ची बाटो, पश्चिम गैंडाकोट गा.वि.स. वडा नं. ९ थुम्सी जाने कच्ची बाटो, उत्तर जामुने सुनारी मगरको खेत र दक्षिण होमनाथ सुवेदीको खेत यति चार किल्लाभित्र पूर्व पश्चिम चार मिटरको कच्ची बाटो रहेको, उक्त बाटोको बीच दुई मिटरमा रगत जस्तो रातो पदार्थको टाटो रहेको, टाटोदेखि पश्चिम पाँच मिटरमा उत्तर दक्षिण गरी दुई फिट छ ईन्च लामो दाउरो रहेको, उक्त दाउरोको उत्तरतर्फको भाग ६ इन्च गोलाई र दक्षिणतर्फको भाग ४ ईन्च चौडाई रहेको, दाउरोको पूर्वतर्फको भाग काटिएको र उक्त रगत जस्तो रातो पदार्थको टाटोदेखि पश्चिम ६ फिट २ ईन्चमा पूर्वपश्चिम गरी २ फिट ३ ईन्च लामो बाँसको बिँड भएको फलामको कोदालो जमिनमा रहेको चार किल्लासहितक