निर्णय नं. ९९२२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९२२ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/११/०६ ४४३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।११।६ मुद्दाः- कर्तव्य ज्यान ०७३-CR-०६७३ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १७ घर भई हाल पूर्व क्षेत्रीय कारागार कार्यालय, झुम्का सुनसरीमा थुनामा रहेको चक्रबहादुर लिम्बू विरूद्ध प्रत्यर्थी / वादी : पञ्चबहादुर लिम्बुको जाहेरीले नेपाल सरकार अपराध गरे पनि आफ्नो कसुर लुकाई अन्तिम समयसम्म उम्कन खोज्ने अपराधी र कसुरमा साबित भई अदालती प्रक्रियालाई सहयोग पुर्‍याउने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त हुँदैन । यस्ता दुवै प्रकृतिमा अपराधीलाई समान सजाय तोक्ने हो भने भविष्यमा कसुरमा साबित भई न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउने प्रवृत्ति निरूत्साहित हुन जाने र अपराध स्वीकार गर्ने प्रवृत्तिमा पनि नकारात्मक असर पर्न जाने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्यायाधीशः श्री परशुराम भट्टराई पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शिवराज अधिकारी मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- सुनसरी जिल्ला धरान न.पा. वडा नं. १७ स्थित पूर्वमा श्याम देवानको खाली जग्गा, पश्चिममा सानो गोरेटो बाटो, उत्तरमा सुक्र कुमार राई, दक्षिणमा कमला राईको घर यति चार किल्लाभित्रमा पर्ने वरिपरि पक्की टिनको छानो भएको ३ कोठे चन्द्रबहादुर लिम्बुको पश्चिम मोहडा भएको सो घरको बीच पूर्व साइडको कोठामा प्रतिवादी चक्रबहादुर लिम्बुले निजकै श्रीमती वर्ष २९ की विमला लिम्बुलाई ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको उक्त कोठाको भुइँमा र दक्षिणपट्टिको वाल (भित्तामा) रगतको छिटा लागेको । सोही घटनास्थलमा घटनामा प्रयोग भएको काठको लम्बाई २ फिट १० ईन्च, गोलाई ७ ईन्च भएको आग्लो फेला पारी बरामद गरी लगेको भन्ने घटनास्थल / बरामदी मुचुल्का । विपक्षी मेरो जेठी छोरी विमला लिम्बुका पति हुन् । विपक्षी र मेरी छोरी विमला लिम्बुका बीचमा विगत १० वर्षअगाडि सामाजिक परम्पराअनुसार विवाह भई दुवै जना घरजम गरी बस्दा हाल २ छोरीसमेत छन् । विपक्षी ज्वाइँ केही महिनाअगाडि विदेश साउदी अरेवियामा रोजगारी गरी फर्किएका हुन, निज ज्वाइँ विदेशबाट फर्किएपछि हाल वर्ष २९ की मेरी छोरी विपक्षीकी पत्नी विमला लिम्बुलाई आँखा लगाई दिनहुँ झगडा गरी पटकपटक नमारी छाडदिन भन्दै आक्रमणको प्रयास गर्ने गरेको कुरा छोरीले बताउँदै आएकी थिइन् । यस्तैमा उल्लिखित मिति र समयमा विपक्षीले मेरी छोरी विमला लिम्बुलाई ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गरी मरणासन्न भई घाइते तुल्याएको अवस्थामा स्थानीयहरूले थाहा पाई प्रहरीसमेतलाई खबर गरी घाइते छोरी विमला लिम्बुलाई तत्काल उपचारका लागि वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा ल्याई उपचार गराउन लाग्दा चिकित्सकले मृत घोषण गरेकोले मृतक लास सोही प्रतिष्ठान धरानको शव गृहमा आई हेर्दा