निर्णय नं. ९९२३ - घर जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९२३ - घर जग्गा खिचोला भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०५/२९ १०७७४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।५।२९ ०६९-DF-०००९ मुद्दाः घर जग्गा खिचोला पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. २ बस्ने प्रकाश जंग राणा विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ४ मा घर भई हाल जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. २ जनकचोक बस्ने गीतारानी हमाल दुई पक्षबीच हकबेहकको विवाद जुन समयमा उत्पन्न हुन्छ मुद्दा गर्नुपर्ने कारण सोही समयमा सृजना भएको मान्नु पर्ने हुन्छ । यसरी मुद्दा गर्नुपर्ने कारण सृजना हुनासाथ उपचार खोज्ने हदम्याद पनि सुरू हुने । (प्रकरण नं.३) हदम्यादसम्बन्धी कानूनलाई विश्रामको कानून, शान्तिको कानून पनि भनिन्छ । यसको उद्देश्य कानूनद्वारा निर्धारित समय व्यतित भएपछि मुद्दा चल्न सक्दैन भनी सुनिश्चित गराउनु हो । ढिलो दाबीलाई अन्त्य गर्नु नै यसको मुख्य उद्देश्य रहने हुन्छ । कुनै पनि व्यक्तिका कानून प्रदत्त हक अधिकार हनन भएमा त्यसको प्रचलनको लागि निर्धारित हदम्यादभित्रै अदालतसमक्ष उपस्थित हुनुपर्ने अनिवार्य सर्त हो । पक्षको अनुकूलता हेरी हदम्याद विस्तार वा संकुचन हुन नसक्ने । मिसिल प्रमाणबाट पुष्टि भएको वास्तविक तथ्यलाई अमान्य गरी हदम्याद कायम गराउने उद्देश्यले खिचोला भएको भनी वादी आफैँले देखाएको काल्पनिक घटनाक्रमलाई हदम्याद कायम हुने मिति कायम गरी अदालतसमक्ष आउन पाउने हो भने हदम्याद सधैँ असीमित हुने हुन्छ । जसबाट हदम्यादसम्बन्धी विधायिकी कानूनको परिपालना नहुने भई न्यायिक प्रक्रिया नै अनिश्चित हुन जाने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्याम खरेल, श्री लक्ष्मीबहादुर निराला, श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने, विद्वान् अधिवक्ताद्वय श्री प्रकाशबहादुर के.सी. र श्री दिपकबहादुर के.सी. प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विनोदकुमार शर्मा, श्री शम्भु थापा, श्री रामप्रसाद भट्टराई एवं अधिवक्ता श्री सुशील विक्रम थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री भिमकुमार ओझा पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री मोहन प्रकाश सिटौला माननीय न्यायाधीश श्री राजेन्द्र राजपन्त यस अदालतमा फैसला गर्ने : माननीय न्यायाधीश श्री गिरिशचन्द्र लाल माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला न्या. केदारप्रसाद चालिसे: पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर मुद्दा दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीको तर्फबाट पर्न आएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई संयुक्त इजलासमा पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरूबीच रायमा मतैक्य हुन नसकी नियमानुसार यस इजलाससमक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. २ मा पर्ने साबिक स्टेशन रोड हाल राजर्षि जनकपथ जनकचोक, सडक सो उत्तर गाउँमा जाने सडक हाल खरंजा रोड सोपूर्वको साबिक कि.नं. २६४, २६५,२६६ को जम्मा ०-१५-० जग्गा मेरो बुबा थिरजंग राणाले खड्ग निसानाबाट प्राप्त गरी वहाँको निधनपछि मेरो आमा