निर्णय नं. ९९४६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९४६ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०५/०४ ४००९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।५।४ ०७३-WO-०३४८ विषय : उत्प्रेषण / परमादेश निवेदक : जाजरकोट जिल्ला, खलंगा गा.वि.स. वडा नं.६ बस्ने लुना खड्का विरूद्ध विपक्षी : लोक सेवा आयोग, मध्यमाञ्‍चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, काठमाडौं वस्तुतः दरखास्त दर्ता गर्दा र अन्तर्वार्ता दिँदासम्म निवेदिकाले पेस गरेको प्रमाणपत्रमा कुनै तात्विक अन्तर नरहेको स्थितिमा कुनै वस्तुनिष्ट कानूनी आधार र कारणबिना सोही प्रमाणपत्रले अन्तिम नतिजा प्रकाशन हुँदा मान्यता नपाउने भनी विपक्षी लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गरेको निर्णय सूचनाहरूलाई कानूनसम्मत मान्‍न नमिल्ने हुँदा निवेदिकाको हकमा लोक सेवा आयोग नियमावली, २०६७ को नियम १०(५) को कानूनी व्यवस्था आकर्षित हुनसक्‍नेसमेत देखिन नआउने । (प्रकरण नं.७) दरखास्त स्वीकार गरी प्रवेशपत्र पाइसकेपछि उक्त परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्छु भन्‍ने वैधानिक अपेक्षा (Legitimate Expectation) निवेदिकामा जागृत भएको हुन्छ । उक्त अपेक्षाअनुरूप श्रम सीप लगाई लिखित परीक्षाबाट छनौट भई अन्तर्वार्तासमेत निवेदिकाले दिइसकेको अवस्थामा निवेदिकाको सम्पूर्ण परीक्षा नै रद्द गर्ने गरी लोक सेवा आयोगको निर्णय परिपत्रका आधारमा विपक्षी लोक सेवा आयोग मध्यमाञ्‍चल क्षेत्रीय निर्देशनालयले प्रकाशित गरेको सिफारिस सूचनाहरू र निर्णय उक्त वैधानिक अपेक्षाको सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिन आउने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री केदारप्रसाद दाहाल र श्री हरि फुयाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश स.प्र.न्या. गोपाल पराजुली : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ: निवेदिकाको निवेदन बेहोरा म निवेदिकाले एस.एल.सी. उत्तीर्ण गरी प्राविधिक तथा व्यावसायिक तालिम परिषद् CTEVT बाट जनरल मेडिसिन (H.A.) तहको शैक्षिक योग्यता हासिल गरेकी छु । मैले एच.ए. तहमा काम गर्न पाउने गरी मिति २०७२।३।२० मा सामान्य चिकित्सा (General Medicine) विषयको अस्थायी व्यवसायी दर्ता प्रमाणपत्र लिएकी छु । विपक्षी लोक सेवा आयोग, मध्यमाञ्‍चल क्षेत्रीय निर्देशनालयले विज्ञापन नं.११४२०।०७२/०७३ (खुला), ११४२१।०७२/०७३ (महिला), ११४२६।०७२।७३ (पि.क्षे.) सेवा - नेपाल स्वास्थ्य, समूह - हेल्थ इन्पेक्सन, तह - पाँचौंअन्तर्गग हेल्थ असिस्टेण्ट पदको लागि मिति २०७२।१०।२७ को गो.प.मा प्रकाशित खुल्ला समावेशीसमेतको विज्ञापन प्रकाशित गरेको थियो । उक्तबमोजिमको विज्ञापनमा तोकिएको योग्यता मसँग रहेकोले खुल्ला महिला, पि.क्षे. कोटामा म निवेदिकाले Online मार्फत आयोगले तोकेबमोजिमको समयमा दरखास्त फारम भरेकी थिएँ । मेरो दरखास्त आयोगले स्वीकार गरी मैले प्रवेशपत्र प्राप्त गरेकी थिएँ । तत्पश्चात् मसमेतको लागि आयोगले मिति २०७३।२।१ मा लिखित परीक्षा लिएको थियो । यसरी लिएको लिखित परीक्षाको नतिजा मिति २०७३।५।२३ मा आयोगबाट प्रकाशित भयो । लिखित परीक्षाको नतिजामा आयोगले मेरो नाम खुल्ला, महिला र पि.क्षे. गरी तीनवटै कोटाअन्तर्गत सफल उम्मेदवारको सूचीमा प्रकाशित ग