निर्णय नं. ९९५० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९५० - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०५/०१ ३८२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।५।१ ०७०-WO-०७३७ मुद्दाः उत्प्रेषण निवेदक : जिल्ला बारा, दोहरी गा.वि.स. वडा नं.८ बस्ने नजामुदिन अंसारी विरूद्ध प्रत्यर्थी : पुनरावेदन अदालत हेटौंडासमेत लेनदेन मुद्दामा साहुको हक र सरोकार भनेको आफूले दिएको ऋण फिर्ता प्राप्त गर्नुसम्म मात्र सीमित हुने हो । लेनदेनको लिखतमा उल्लिखित भाखाभित्र ऋण नतिरेमा साहुले नालिस गर्न पाउने र यस्तो नालिस परेपछि अदालतबाट भरिपाउने ठहरेको रकम साहुले प्राप्त गर्न सकोस् भन्ने लेनदेनसम्बन्धी कानूनी व्यवस्थाको मनसाय बुझ्न सकिन्छ । यस्तो रकम प्राप्त गर्ने पहिलो उपाय अदालतको फैसलापश्चात् पनि आसामीले स्वतःस्फूर्त रूपमा ऋण चुक्ता गरोस् भन्ने नै हो र यसो नगरेमा दोस्रो उपायको रूपमा मात्र आसामी र निजका अंशियारहरूको सम्पत्ति लिलाम गराएर भएपनि असुल गराउन पाउने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री नारायण देवकोटा र श्री केदार दाहाल अवलम्बित नजिर : ने.का.प. २०६७, अंक ६, नि.नं.८३९८ सम्बद्ध कानून : आदेश न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः प्रत्यर्थी धमेन्द्रकुमार जयसवाल वादी भई बारा जिल्ला अदालतमा दायर गरेको लेनदेन मुद्दामा प्रतिवादी तथा यस मुद्दाका प्रत्यर्थी हेफाजत करीम अंसारीको नाममा जारी भएको म्याद निज हेफाजत आफैँले बुझी लिएकोमा प्रतिउत्तर नफिराई म्याद गुजारी बसेकोमा वादीले फिराद दाबीबमोजिम साँवा रकम रू.५,२५,०००।– र लिखत मितिदेखि भरिभराउ भएको मितिसम्मको ब्याज भराई पाउने ठहर्याई मिति २०६६।१०।२१ मा फैसला भई उक्त मुद्दा अन्तिम भई बसेको छ । उक्त मुद्दाका वादी धर्मेन्द्रले निज प्रतिवादी हेफाजतको नाममा रहेको बारा जिल्ला, बिसुनपुर गा.वि.स. वडा नं. ९ स्थित कित्ता नं.६, ऐ. वडा नं.७ स्थित कित्ता नं.२८१, साथै निज हेफाजतको एकासगोलकी पत्नी प्रत्यर्थी मनुजा खातुनको नाममा रहेको कित्ता नं. २७३ र ७७२ समेत जग्गाबाट बिगो भराई पाउन निवेदन दर्ता गराएकोमा उक्त जग्गाहरू बारा जिल्ला अदालतको आदेशले रोक्का गराएको छ । सो निवेदनउपर कारवाहीको क्रममा बारा जिल्ला अदालतबाट निज प्रतिवादीहरूको नाममा बिगो दाखिल गर्न र नगरे जायजेथा लिलाम गरी वादीको बिगो भराई दिइने उल्लेख भएको रीतपूर्वकको सूचना जारी भएको थियो । सो सूचनाबमोजिम उपस्थित हुन नआएकोले बारा जिल्ला अदालतबाट मिति २०६८।१२।१८ का दिन रीतपूर्वक जायदात तायदात मुचुल्का तथा पञ्चकृते मूल्याङ्कन मुचुल्कासमेत गराई लिलाम प्रक्रिया अगाडि बढेकोमा मिति २०७०।४।१६ मा भएको डाँक बढाबढमा म निवेदकले भाग लिई रू.१०,६४,२७० मा लिलाम सकार गरी सोको १० प्रतिशत तत्काल धरौटबापत राखी बाँकी रकमसमेत बुझाइसकेको छु । सो लिलामअनुसार दाखिल खारेजको प्रक्रिया अगाडि बढेकोमा दण्ड सजायको महलको ६१ नं. बमोजिम निजहरू हेफाजत तथा मनुजा खातुनको छुट्टाछुट्टै निवेदन परेकोमा बारा जिल्ला अदालतबाट लिलामी प्रक्रियालाई सदर ठहर्याई आदेश भएको र मैले लिलाम सकार गरेका उक्त जग्गाहरूको दा.खा. पुर्जी एवं चलनपुर्जीसमेत प्राप्त गरिसकेको छु