निर्णय नं. ९९७० - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९७० - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/११/२९ ११३८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७४।११।२९ ०७३-WO-१२३८ विषयः उत्प्रेषण / परमादेश निवेदक : मकवानपुर जिल्ला नामटार गा.वि.स. वडा नं.७ परिवर्तित भई कैलास गाउँपालिका वडा नं. ९ मा घर भई हाल जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरमा ल्याब टे.अधिकृत पदमा कार्यरत राजकुमार इटेनीसमेत विरूद्ध विपक्षी : सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी सन्तती छात्रवृत्ति व्यवस्थापन समिति सिंहदरबार, काठमाडौंसमेत कुनै कानूनमा भएको बाधा अड्काउ फुकाउको व्यवस्था सो कानूनबमोजिम काम गर्दा आइपरेको कुनै बाधा अड्चन सो कानूनको समान्य व्यवस्थाले समाधान गर्न नसकेको अवस्थामा प्रयोग हुने विशेष व्यवस्था हो । सामान्य कानूनी व्यवस्थाले नै आइपरेको कुनै समस्या समाधानको बाटो देखाएको अवस्थामा बाधा अड्काउ फुकाउको विशेष व्यवस्थालाई जबरजस्ती रूपमा प्रयोग गर्न सम्बन्धित कानूनको मनसाय रहेको मान्न नमिल्ने । आफूखुसी ढङ्गबाट (Arbitrarily) बाधा अड्काउ फुकाउको व्यवस्थालाई प्रयोग गर्न थालियो भने त्यसबाट कानूनको वाञ्छित उद्देश्य हासिल हुन सक्दैन । कानूनको अन्य व्यवस्थाहरू आफैँमा स्पष्ट भइरहेका बेला जबरजस्ती बाधा अड्काउ फुकाउको बहानामा अनपेक्षित परिणाम निकाल्नुलाई उचित मान्न नसकिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री नेवल चौधरी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ र १३३(२) अनुसार दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ:- हामी निवेदकहरू निजामती कर्मचारी रहेकोमा कुनै विवाद छैन । निजामती कर्मचारीहरूको सन्ततिको उच्च शिक्षा अध्ययनमा सघाउ पुर्याउने उद्देश्यले नेपाल सरकारले छात्रवृत्ति दिने व्यवस्था गरेको रहेछ । उक्त छात्रवृत्तिलाई व्यवस्थित गर्ने निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिका, २०७२ निर्माण भई प्रचलनमा समेत रहेको छ । हामी निवेदकहरू मध्येको म राजकुमार इटेनीको छोरा असिम इटेनी हेटौंडा सिट मकवानपुरमा २०७२ सालमा भर्ना भई Bsc.CSIT कोर्षमा अध्ययनरत छात्र हो । उक्त कलेजलाई जम्मा रू.५,२५,०००।- फी तिर्नु पर्नेछ । त्यसैगरी म निवेदक दलबहादुर खड्काको छोरा किशोरकुमार खड्का सेन्ट जेभियर्स कलेज काठमाडौंमा Bsc. CSIT कोर्षमा २०७२ सालमा भर्ना भई अध्ययनरत छात्र हो । उक्त कलेजलाई जम्मा रू.४,७२,५००।- फी तिर्नु पर्नेछ र म निवेदक केशव पराजुलीको छोरा अभिषेक पराजुली ट्रिनिटि इन्टरनेसनल कलेज काठमाडौंमा Bsc. CSIT कोर्षमा २०७२ सालमा भर्ना भई अध्ययनरत छात्र हो । उक्त कलेजलाई जम्मा रू.५,९०,०००।- फी तिर्नु पर्नेछ । हामी निवेदकहरूको छोराहरू छात्रवृत्तिका लागि छनौट भइसकेपछि कलेजलाई तिर्नु पर्ने शुल्कको आधारमा निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिका, २०७२ को दफा ३ को उपदफा ३ को (ख) बमोजिम असिम इटेनी र अभिषेक पराजुलीलाई रू.पाँच लाखभन्दा बढी शुल्क लाग्ने भएकाले निजहरूले रू.दुई / दुई लाख छात्रवृत्ति पाउने त्यसैगरी सोही निर्देशिकाको दफा ३ को उपदफा ३ को (ग) बमोजिम किशोर कुमार खड्काले रू. एक लाख पचास हजार छात्रवृत्ति रकम पाउने अनिवार्य कानूनी व्यवस्था