निर्णय नं. ९९७८ - कर्तव्य ज्यान र रहजनी चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९७८ - कर्तव्य ज्यान र रहजनी चोरी भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०२/३१ ७९२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७४।२।३१ ०६७-CR-०६०३ मुद्दाः कर्तव्य ज्यान र रहजनी चोरी पुनरावेदक / प्रतिवादी : गगनसिंह भाटको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / वादी : बारा जिल्ला, रतनपुरी गा.वि.स.वडा नं.७ घर भई कारागार कार्यालय महोत्तरी जलेश्वरमा थुनामा रहेको प्रहार ढुङ्गाना प्रतिवादीले अदालतमा बयान गर्दा आरोप स्वीकार गरेको अवस्थामा पनि निजको साबिती अन्य प्रमाणबाट पुष्टि हुनुपर्ने भन्ने सिद्धान्तलाई स्वीकार गरिसकेको हाम्रो फौजदारी न्याय प्रणालीले पुनरावेदकले जिकिर गरेजस्तो अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीले गरेको साबिती बयानलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरेको अवस्थामा वा अन्य स्वतन्त्र प्रमाणले प्रतिवादीउपरको आरोप पुष्टि नगरेको अवस्थामा प्रतिवादीका विरूद्धमा निरपेक्ष रूपमा प्रमाणमा ग्राह्य मान्न मिल्ने नदेखिने । (प्रकरण नं.२) अदालतले पक्षहरू आफ्नो दाबी वा जिकिरसाथ पेस गरेका प्रमाणहरूको परीक्षण गर्ने हुँदा यस्तो मौकामा कागज गर्ने व्यक्तिले अदालतमा बकपत्र गर्दा आफ्नो मौकाको भनाइलाई पुष्टि गर्न सक्दछ तर थप नयाँ भनाइ राख्न पाउँदैन र यदि नयाँ कुरा भनेमा सो हदसम्म प्रमाणमा ग्राह्य नहुने । (प्रकरण नं.४) कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारित गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी प्रमाणित गर्ने भार विधायिकी कानूनले अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक निरपेक्ष रूपमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षमा रहने । वादी पक्षले आफ्नो अभियोग प्रमाणित गरेको अवस्थामा सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाइ पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको हदसम्म मात्र प्रमाण पुर्याउने भार निजमाथि रहने हो, प्रतिवादीको फुर्सद वा छुटको दाबीले वादी पक्षको विधायिकाले तोकेको दायित्वमा कमी आउने होइन । यसबाट प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्टि गर्न नसकेको भन्ने आधारमा मात्र वादीले अन्य प्रमाणबाट अभियोग प्रमाणित गर्न नसकेको अवस्थामा दाबी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डे प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामकृष्ण काफ्ले अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य बारा जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई माननीय न्यायाधीश श्री विदुरविक्रम थापा पुनरावेदन अदालत हेटौंडा । फैसला न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः- मिति २०६३/०४/२१ गते पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना.२ ख २६६४ नं. को ट्रकमा २ जना अपरिचित व्यक्ति अमलेखगञ्ज स्थित ३ नं. पुलबाट पथलैया जाने भनी चढेका र राति अं.२१:३० बजे ट्रक चालकसमेतलाई खुकुरी र कटुवा पेस्तोल देखाई ट्रक रोकी चालक तेजबहादुर विष्ट, ट्रकमा रहेका सुरेन्द्र ऐर र वीरसिंह भाटलाई जङ्गलतर्फ लगी नगदसमेत