निर्णय नं. ९९८७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९८७ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/०५/१५ ३७९९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।५।१५ ०७४-WF-०००२ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : ग्वारा तण्डुकारको बुहारी कान्छा तण्डुकारको श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.७ घर नं. १३८ बस्ने बसुदेवी तण्डुकारसमेत विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित श्री मालपोत कार्यालय, चावहिल, काठमाडौंसमेत मोही हक खरिद बिक्री हुँदाको अवस्थामा कित्ताकाट हुने अवस्था स्वभावत: हुने हुँदा कानूनी व्यवस्थाले नै स्पष्ट रोक लगाएकोमा बाहेक मोही खरिद बिक्रीको बखत कित्ताकाट गर्ने कार्य नियमित कार्य नै मान्नु पर्ने । (प्रकरण नं.८) परापूर्वकालदेखि घरबास गरी आएको मोही हकको जग्गा बिक्री गर्न वा अन्य प्रकारले हक छाडी दिन सकिने अवस्थामा मोहीका अंशियारहरू बीच अंशबन्डा हुन सक्तैन भन्नु मनासिब नदेखिने । मोहीले भोग गरी आएको घर र सो घरले चर्चेको जग्गा बन्डा भए पनि गुठीको स्वामित्ववालालाई जग्गाधनीको हैसियतमा प्राप्त हुने हकमा असर पर्ने अवस्था देखिँदैन । भोगाधिकारको हैसियतसम्म स्वाभाविकरूपमा केही परिवर्तनको स्थिति रहे पनि स्वामित्वको विषयमा कुनै परिवर्तन हुने नदेखिएको र मोही रहेको आधारमा मोहीका परिवारहरूका बीच सगोलमा निर्माण भएको घर बन्डा गर्न पाउने हकलाई निष्प्रयोजन वा संकुचित हुने गरी अर्थ लगाई अंशबन्डा लिखत नै पारित गर्न अस्वीकार गर्नु न्यायोचित नहुने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री नारायणप्रसाद भट्टराई विपक्षीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६७, नि.नं.८३१६ नेकाप २०६४, अंक १०, नि.नं.७८८५, पृ.१२७५ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ गुठी संस्थान ऐन, २०३३ यस अदालतको संयुक्त इजलासमा फैसला गर्नेः मा. न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडा मा. न्यायाधीश श्री आनन्दमोहन भट्टरार्इ आदेश न्या.केदारप्रसाद चालिसे : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (क) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ बत्तिसपुतली स्थित श्रीरामचन्द्र निजी गुठीको मोही हाम्रा पति / बाबु कान्छा तण्डुकार भएको, काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ७ सिट नं. १०२-११०६-०५, कि.नं. ६ को १-५-२-० जग्गा पति / बाबुको २०३५ सालमा आफ्नो कालगतिले मृत्यु भएकोले निजको शेषपछि निवेदकमध्येकी म बसुदेवी तण्डुकारका नाममा नामसारी भई आएको थियो । सडक विस्तारको क्रममा कित्ताकाट भई कि.नं. ६० सडकमा परी बाँकी कि.नं. ६१ को १-१-१-२ जग्गा निवेदकमध्येकी म बसुदेवी तण्डुकारको नाममा कायम भएको थियो । उक्त कित्ता जग्गामा हाम्रा पति बाबु स्व. कान्छा तण्डुकारको पालामा भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनअघिदेखि नै जग्गाधनी गुठीको सहमतिबाट २ वटा घर बनाई बसोबास गरी उक्त जग्गाधनी गुठीलाई सालसालै कुतबाली बुझाई आएको हाम्रो मोहियानी हकको घरबारीको सम्पत्ति हो । हाम्रो परिवार संख्या ठूलो भई एकासगोलमा बसी व्यवहार गर्न कठिन भएकोले हामी अंशियारहरूबीच छुट्टी भिन्न भई बस्ने गरी बन्डापत्रको कागज रजिस्ट्रेसन पारित गरिपाउँ भनी जग्गाधनी रामचन्द्र न