निर्णय नं. ९९९६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९९६ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/११/३० ६३८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।११।३० ०६९-CI-१०७१ मुद्दा: उत्प्रेषण / परमादेश पुनरावेदक / विपक्षी : पर्सा जिल्ला, अलौ गा.वि.स. वडा नं. २ बस्ने लक्ष्मी साह कानु विरूद्ध प्रत्यर्थी / रिट निवेदक : पर्सा जिल्ला, अलौ गा.वि.स. वडा नं. २ बस्ने रामज्योति कनुइन कुनै जग्गाको जग्गाधनीले सो जग्गाको मोही लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा निर्णय गर्ने अधिकारप्राप्त निकाय वा अधिकारीले निर्णय गर्नुपूर्व सो जग्गाको मोही वा निजको हकवालालाई सुनुवाइ र प्रतिवाद गर्ने मौका दिई दुवै पक्षका कुरा सुनी निर्णय गर्नुपर्दछ । मोही वा निजको हकवालालाई सुनुवाइको मौका नदिई केबल जग्गाधनीको निवेदनको आधारमा मात्र एक पक्षीयरूपमा मोही लगत कट्टा हुने गरी भूमिसुधार कार्यालयले गरेको निर्णयबाट मोहीको मोहीयानी हकमा प्रतिकूल असर पर्ने हुँदा त्यस्तो निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भई बदरभागी हुने । (प्रकरण नं.८) पुनरावेदकका तर्फबाट : प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू पुनरावेदन अदालत हेटौंडा आदेश न्या. मीरा खड्का : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- कृष्णा कुमारीको नाउँमा सर्वे नापी दर्ता रहेको कि.नं. ४४ को ज.वि. १-१-० को दर्तावाला विधिवत्‌ मोही म निवेदकको स्व.ससुरा बली साह हुनुभई वहाँले जोतभोग गरी मोहीको १ नं. लगत भरी ३ नं. प्रमाणपत्रसमेत प्राप्‍त गरी भोगचलन गर्दै आउनु भएको थियो । ससुराको २०३१ सालमा मृत्यु भयो भने वहाँकी पत्‍नीको सोअगावै मृत्यु भएको थियो । ससुरा बली साहको मृत्युपश्‍चात् वहाँका ४ भाइ छोराहरूले घरसारमा चुलो मानो अलग गरी भएको पैतृक सम्पत्ति र मोही हकको जग्गा जमिनसमेत मौखिक रूपमा बन्डा लगाई भोगचलन गरेका थियौं । उल्लिखित कि.नं. ४४ बाट कित्ताकाट भई विपक्षी लक्ष्मी साहको नाउँमा कायम भएको कि.नं. २३८ को ०-१०-० जग्गा म निवेदकका पतिले मोहीको हैसियतले जोतभोग गर्ने र मोही हकसमेत मेरा पतिले नै नामसारी गराउने सहमति भएकोले सोहीबमोजिम म निवेदकसमेतले भोगचलन गरी आउने क्रममा पति मगरू साह कानुको २०४१।७।१० मा निधन भयो । उक्त जग्गा म निवेदकले आजसम्म मोहीको हैसियतले भोगचलन गरी कुत बालीसमेत बुझाउँदै आएकोमा विपक्षी भूमिसुधार कार्यालय पर्साबाट मिति २०६८।१२।२१ मा सुनुवाइको मौका नदिई मोही लगत कट्टा गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुँदा उक्त निर्णय बदर गरी मोहीयानी हक यथावत् राख्‍नु भनी विपक्षीहरूका नाउँमा उत्प्रेषणलगायत परमादेशको आदेश जारी गरिपाउँ भन्ने रामज्योती कनुइनको निवेदनपत्र । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? आदेश जारी गर्नु नपर्ने कुनै आधार प्रमाण र कारण भए साथै राखी बाटोको म्यादबाहेक १५ दिनभित्र पुनरावेदन सरकारी वकिल कार्यालय नेपालगञ्जमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदन पत्रको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू । निवेदकले अन्तरिम आदेशसम